२०७३ श्रावण ३१ गते

सोमबार पनि दोहोरो अंकले घट्यो शेयर बजार : १९ कम्पनीले कमाए

stockसाताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । ४ घण्टाको कारोबार अवधिमा नेप्से परिसूचक ३९.१२ अंकले घटेर १६९४.८१ अंकमा कायम भएको छ । सोमबार कारोबार भएका सबै समूहहरु घटेका छन् । बैंकिङ समूह ४०.८८ अंकले घटेको छ भने विकास बैंक र फाइनान्स क्रमशः ३७.९९ र २.८ अंकले घटेका छन् । सबैभन्दा धेरै बीमा समूह २३४.२८ अंकले घटेको छ । होटल, जलविद्युत् र अन्य क्रमशः ७६.५९, ४९.६१ र ९.५५ अंकले घटेका छन् । 

कारोबार रकम भने आइतबारको तुलनामा थोरै बढेको छ । आइतबार १ अर्ब १४ करोडको कारोबार भएकोमा सोमबार १ अर्ब १९ करोडको कारोबार भएको छ । दिनभरिमा १ सय ४१ वटा कम्पनीको २४ लाख १६ हजार ८ सय ५ कित्ता शेयर ६ हजार ६ सय ४० पटक खरिदविक्रि हुँदा कुल १ अर्ब १९ करोड २८ लाख ५ हजार ३ सय ७९ रुपैयाँको कारोबार भएको हो । कुल कारोबारमध्ये बैंकिङ समूहको ६० करोडभन्दा माथिको शेयर कारोबार भएको छ भने विकास बैंक र फाइनान्सको क्रमशः २० करोड ९२ लाख र २ करोड ९१ लाखभन्दा माथिको कारोबार भएको छ । 

कम्पनीगत आधारमा हेर्दा, एनबी बैंकको सबैभन्दा धेरै ९ करोड ३४ लाखभन्दा माथिको शेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको ५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकको झन्डै ५ करोडको कारोबार हुँदा नेपाल बैंकको साढे ४ करोडभन्दा माथिको शेयर कारोबार भएको छ भने सिद्धार्थ बैंक, एनएमबी बैंक, माछापूछ्रे बैंक र लुम्बिनी जेनेरल इन्स्योरेन्सको ३ करोडमाथिको शेयर कारोबार भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक, कृषि विकास बैंक लगायतको २ करोडमाथिको कारोबार भएको छ । 

सोमबार १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ । हाम्रो विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.३५ र ९.२९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । समिट माइक्रोफाइनान्स, नागवेली लघुवित्त, सिनर्जी फाइनान्स, रिलायन्स लोटस फाइनान्स लगायतले पनि कमाएका छन् । गुमाउनेमा ग्रामीण विकास बैंक, रिडी हाइड्रोपावर, राप्तीभेरी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स लगायत छन् ।