बैंकिङ खबर/ सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमको सञ्चालक समितिमा पहिलोपटक सर्वसाधारणको प्रवेश भएको छ । अम्बिकाप्रसाद पौडेल टेलिकम सञ्चालक समितिमा सर्वसाधारणको प्रतिनिधित्व गर्ने पहिलो व्यक्ति बनेका छन् । सेयर बजारका सक्रिय लगानीकर्ता पौडेल निर्विरोध चयन भएका हुन् ।
यसअघि टेलिकममा सर्वसाधारणबाट सञ्चालक भएका थिएनन् । १३ चैत (शुक्रबार) मा बस्ने टेलिकमको साधारणसभाले पौडेललाई सञ्चालकको रुपमा अनुमोदन गर्नेछ । हाल टेलिकम सञ्चालक समितिमा एकजना सदस्य सर्वसाधारण सेयरधनीको तर्फबाट चयन हुने व्यवस्था छ । सदस्य छनोटमा पौडेलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।
पौडेल नेपाल उद्योग वाणिज्य महासंघद्वारा गठित पुँजीबजार फोरमका अध्यक्ष हुन् । उनी नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्षसमेत हुन् । सेयरबजारबारे चेतना अभिवृद्धिमा समेत पौडेल सक्रिय रहँदै आएका छन् ।