Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दर्जनभन्दा बढी कम्पनीको आइपिओ आउँदै, अब आइपिओ भर्न छुट्टै वेवसाइट

२०७७ फाल्गुन २८ गते

बैंकिङ खबर/  प्राथमिक सेयर (आइपिओ) मा लगानीकर्ताको आकर्षण दिन प्रतिदिन बढ्दो छ । हरेकपटक राम्रा कम्पनीको आइपिओ निष्कासन गरिँदा लाखौँको संख्यामा आवेदक थपिने गरेका छन् । पछिल्लोपटक खुलेको ज्योति लाइफ इन्स्योरेन्स (जेएलआइसी) को आइपिओमा कीर्तिमानी संख्याका सर्वसाधारण लगानीकर्ताबाट आवेदन परेको छ । ज्योतिले २१–२६ फागुनमा सर्वसाधारणका लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता आइपिओका लागि करिब साढे १८ लाख लगानीकर्ताले आवेदन दिएका छन्, जुन हालसम्मकै ठूलो माग हो । यद्यपि, यो संख्या लगानी गर्न योग्य आर्थात् डिम्याट खाता खोलेका लगानीकर्ताको करिब ५८ प्रतिशत मात्र हो । यसको अर्थ अझै सेयर कारोबारकै लागि भनेर डिम्याट खाता खोलेका ४० प्रतिशतभन्दा बढीले आइपिओमा लगानी गरेका छैनन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को तथ्यांकअनुसार हालसम्म ३१ लाख ५८ हजार ७ सय ९६ जनाले डिम्याट खाता खोलेका छन् । यसअघि नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ले निष्कासन गरेको सबैभन्दा ठूलो परिमाणको आइपिओमा १४ लाख ७५ हजार लगानीकर्ताको आवेदन स्वीकृत भएको थियो ।

आइपिओमा नगण्य जोखिम तथा छोटो समयमै पनि मनग्य नाफा देखेरै लगानीकर्ता आकर्षित भएका हुन् । पहिले पहिले विशेषगरी लघुवित्त र बिमा कम्पनीमा बढी आकर्षण हुने गरेकोमा अहिले नेप्से परिसूचक बढेर करिब एक वर्षको अन्तरालमै दोब्बर पुगेसँगै सबै कम्पनीका आइपिओमा पूर्तिभन्दा कैयौँ गुना बढी आवेदन पर्ने गरेको छ । त्यतिवेला हेपिने गरेका हाइड्रोपावर कम्पनीहरूको समेत आज १० कित्ता सेयर पाउँदा भाग्यमानी ठहरिने दिन आएको छ । केही समयको अन्तरालमै प्राथमिक तथा द्वितीय बजारमा समेत नयाँ लगानीकर्ताको अभूतपूर्व आकर्षण हुनुमा विशेषगरी नेपाल पुनर्बिमा कम्पनी (एनआरआइसी) कोसेढुंगा सावित भएको विश्लेषकहरू बताउँछन् । करिब एक वर्षअघि एनआरआइसीको आइपिओमा करिब २ लाखले मात्र आवेदन दिएका थिए । त्यतिवेला डिम्याट खाता हुनेको संख्या नै कम भए पनि कम आवेदन पर्नुमा कोरोना महामारीको सुरुवाती त्रासले  महत्त्वपूर्ण भूमिका खेलेको थियो । एनआरआइसीको आइपिओ माग गर्ने सबैले ४० देखि ५० कित्ता पाउनु र सो सेयरको द्वितीय बजारमा केही महिनामै प्रतिकित्ता मूल्य करिब १ हजार ८ सयसम्म पुग्नुले सर्वसाधारणमा सेयरप्रति जागरण ल्याएको विश्लेषण गरिँदै आएको छ । त्यसपछि तत्कालीन अवस्थामा सबैलाई पर्ने निश्चित भएको निफ्राको ठूलो संख्याको आइपिओले गाउँ–गाउँसम्म सेयरप्रतिको जागरण पुर्‍याउन थप भूमिका खेल्यो । अहिले जुनसुकै कम्पनीका केही लाख कित्ता सेयर निष्कासन गरिँदा पनि १० लाखभन्दा बढीको आवेदन पर्ने गरेको छ । यसले सेयरबजारमा, विशेषगरी प्राथमिक बजारमा नयाँ लगानीकर्ताको आकर्षण र प्रवेश तीव्र गतिमा बढ्दै गएको देखाउँछ । यतिवेला नयाँ आउँदै गरेका आइपिओबारे लाखौँ लगानीकर्तालाई चासो छ । त्यस्तै, आइपिओ खुल्नेबित्तिकै सिडिएसको मेरोसेयर पोर्टलले काम नगर्ने समस्या झेलिरहेका लगानीकर्तालाई समस्या न्यूनीकरणका लागि भइरहेका सुधारका प्रयासबारे पनि जान्ने उत्सुकता उत्तिकै छ । यसर्थ, यहाँ मूलतः यी दुई विषयमा केन्द्रित भई जानकारीमूलक सामग्री प्रस्तुत गरिँदै छ ।

२ लघुवित्त, १० हाइड्रोपावर र डिस मेडिया नेटवर्कको गरी १३ कम्पनीको आइपिओ आउँदै
निकट भविष्यमै प्राथमिक बजारमा १३ कम्पनीका करिब ४ करोड ५६ लाख कित्ता आइपिओ निष्कासन हुँदै छ । यसमध्ये सर्वसाधारणको प्रमुख रोजाइमा पर्ने गरेका लघुवित्त कम्पनी २ वटा छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आइपिओ जारी गर्न आवश्यक तयारी गरिरहेको छ । त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ निष्कासन गर्न निवेदन दिएको छ । त्यसैगरी, समूह यकिन भइनसकेको डिस मेडिया नेटवर्क लिमिटेड २३ लाख ८५ हजार ९ सय २९ कित्ता आइपिओ निष्कासनको तयारीमा छ । बाँकी १० कम्पनी भने जलविद्युत् (हाइड्रोपावर) समूहका छन् ।

हाइड्रोपावरअन्तर्गत साहस ऊर्जा लिमिटेडको १ करोड ५ लाख, सामलिङ पावर कम्पनी लिमिटेडको १२ लाख ३० हजार, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड को १२ लाख, सयपत्री हाइड्रपावर लिमिटेडको ९० लाख, हिमालयन हाइड्रोपावर लिमिटेडको २२ लाख ५० हजार कित्ता आइपिओ आउने प्रक्रियामा छन् । त्यसैगरी, मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड ७ लाख ३६ हजार २ सय ८६, मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड १ करोड ५० लाख, ङ्यादी हाइड्रोपावर लिमिटेड ४० लाख ५० हजार, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख १८ हजार २ सय ३० र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २५ लाख कित्ता आइपिओ निष्कासनको प्रतीक्षामा छन् ।

कुन कम्पनीको कति कित्ता आउँदै छ आइपिओ ?
१. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड – ३,८९,००० कित्ता
२. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड – १९,७७,३०० कित्ता
३. डिस मेडिया नेटवर्क लिमिटेड – २३,८५,९२९ कित्ता
४. साहस ऊर्जा लिमिटेड – १,०५,००,००० कित्ता
५. सामलिङ पावर कम्पनी लिमिटेड – १२,३०,००० कित्ता
६. बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड – १२,००,०००
७. सयपत्री हाइड्रपावर लिमिटेड – ९०,००,००० कित्ता
८. हिमालयन हाइड्रोपावर लिमिटेड – २२,५०,०००
९. मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड – ७,३६,२८६ कित्ता
१०. मध्यभोटेकोसी जलविद्युत् कम्पनी लिमिटेड – १,५०,००,००० कित्ता
११. ङ्यादी हाइड्रोपावर लिमिटेड – ४०,५०,००० कित्ता
१२. सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड – २५,१८,२३० कित्ता
१३. विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड – २५,००,००० कित्ता

अब आइपिओ भर्न छुट्टै वेवसाइट बनाइँदै, प्राविधिक झन्झटबाट मुक्ति मिल्ने आशा
आइपीओमा लगानीकर्ताको आकर्षण तीव्र हुँदै जाँदा त्यसका लागि बनाइएका प्राविधिक संयन्त्रहरू भने निरीह बन्दै गएका छन् । थोरै आवेदक हुँदाको बखत सिडिएससीले बनाएको मेरो सेयर पोर्टल नचलेर लगानीकर्ताले हैरानी खेप्दै आएका छन् । यो समस्याको समाधान खोज्ने क्रममा सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडएससी) ले आइपिओ भर्नका लागि छुट्टै वेवसाइट बनाउने तयारी गरेको छ । यसबाट संगठित संस्थाको प्राथमिक सेयर निष्कासनमा आवेदन गर्न सहज हुने विश्वास सिडिएससीको छ ।

छोटो समयमै लगानीकर्ताको संख्या गुणोत्तर श्रेणीमा वृद्धि भएकाले आइपिओ खुलेका बखत मेरो सेयरमा अत्यधिक भार पर्ने गरेको छ । लगानीकर्तालाई यो समस्याबाट मुक्ति दिन आइपिओ भर्ने प्रयोजनका लागि नयाँ वेवसाइट निर्माणको तयारी भइरहेको सिडिएससीले जनाएको छ । यसपटक भने सिडिएससीले सेयरबजारमा नवप्रवेशको दरलाई मध्यनजर गरी दीर्घकालीन सोचका साथ उच्च क्षमताको प्राविधिक व्यवस्था गर्नुपर्ने देखिन्छ ।

Ad