युनिलिभर लिमिटेड कम्पनीले आफ्ना लगानीकर्तालाई प्रतिकित्ता १ हजार २० रुपैयाँ लाभांश दिने भएको छ । युनिलिभरको मुम्बईमा बसेको बोर्ड बैठकले गत वर्षभन्दा ३० रुपैयाँ बढाएर नगद लाभांश दिने प्रस्ताव गरको हो । कम्पनीले लाभांस प्रस्ताव स्वीकृतीका लागि असोज ५ गते काठमाडौंमा साधरणसभा बोलाएको छ ।
अघिल्लो पटक युनिलिभरले सेयरधनीलाई प्रतिकित्ता ९ सय ९० रुपैयाँ बोनस दिएको थियो । साधरणसभाबाट लाभांश स्वीकृत भएपछि सेयरधनीले दशैं अघि नै कम्पनीबाट नगद पाउने छन् । नौ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको युनिलिभरले प्रस्तावित लाभांस स्वीकृत भए सेयरधनीलाई ९५ करोड रुपैयाँ नगद बाँड्नेछ ।
कम्पनीमा ८० प्रतिशत सेयर हिन्दुस्तान युनिलिभर लिमिटेडको छ । कम्पनीको सात लाख ३६ हजार ५ सय ६० कित्ता सेयरका लागि हिन्दुस्तान युनिलिभरले ७५ करोड १२ लाख ९१ हजार रुपैयाँ नगद पाउनेछ । त्यसैगरी युनिलिभरमा शिवविक्रम ल्याण्ड एण्ड इन्डष्ट्रिजको ४६ हजार ३५ कित्ता सेयर छ । यो सेयरका लागि कम्पनीले ४ करोड ९१ लाख ५७ हजार रुपैयाँ नगद पाउनेछ । त्यसैगरी युनिलिभरमा सर्वसाधरणको १ लाख ३८ हजार १ सय ५ कित्ता सेयर छ । यो सेयरवापत सर्वसाधरणले कम्पनीबाट १४ करोड आठ लाख ६७ हजार रुपैयाँ नगद पाउनेछन् ।