साताको अन्तिम दिन विहिबार नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ वटा कम्पनीको ३५ लाख ४४ हजार ७ सय ८४ कित्ता शेयर ७ हजार ५ सय ९७ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ३१ करोड ८६ लाख ७२ हजार ५ सय ७५ रुपैयाँको कारोबार भयो । त्यस्तै, नेप्से परिसूचक दिनभरिमा ४.७० अंकले घटेर बजार अहिले १७७४.८७ अंकमा कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से परिसूचक १७६८.६० अंकमा थियो । यस आधारबाट हेर्दा यो साता शेयर बजार ६.२० अंकले बढेको देखिन्छ ।
गत साता शेयर बजार १ सय ९ अंकले घटेको थियो । पूरै साता निरन्तर घटिरहेको शेयर बजारले दोस्रो साता पनि रङ फेर्ने संकेत देखाएन । साताको आइतबार बजार ३.८८ अंकले घट्यो । सोमबार एकै पटक ५ प्रतिशतले घटेर कारोबार समयावधि नपुग्दै शेयर कारोबार बन्द भएपछि धितोपत्र बोर्डले एउटा कदम चाल्यो । शेयर बजारमा कालोधन भित्रिएको आशंकामा छानविन गर्नका लागि गठन गरेको सम्पत्ति शुद्धिकरण छानविन समिति बोर्डले सोमबार बेलुका नै खारेज गर्यो । यसको परिणाम मंगलबारको बजारमा टड्कारो देखियो । बजार सवा एक घण्टामा नै ५ प्रतिशतले बढ्यो । बुधबार पनि बजार दोहोरा अंकले बढ्यो । साताको अन्तिम दिन आएर फेरि बजार घटेको छ । अर्को साताको सुरुवात कसरी हुन्छ, त्यो भने हेर्न बाँकी छ ।
कारोबारको कुरा गर्ने हो भने यो साता निकै नै तलमाथि भएको छ । समग्रमा भन्नुपर्दा साताभरमा ६ अर्ब ५ करोड ६६ लाख २१ हजार ६ सय २६ रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकम गत साताको तुलनामा घटेको हो । गत साता ७ अर्ब ८० करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । यो साता नेपाल बैंकको शेयरमा लगानीकर्ताको आकर्षण धेरै रह्यो, जसको ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ । गत आर्थिक वर्षमा नाफामा सबैभन्दा अग्रस्थानमा पर्न सफल भएपछि लगानीकर्ताको आकर्षण नेपाल बैंकले तानेको हो । त्यस्तै, एनबी बैंक, सिद्धार्थ बैंक, शिखर इन्स्योरेन्स लगायतको पनि यो साता राम्रो कारोबार भएको छ ।
यो साता माउण्ट मकालु डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक, किसान माएक्रोफाइनान्स, कन्काई विकास बैंक, एनआईडीसी क्यापिटल मार्केट्स, हाम्रो विकास बैंक, टुरिजम डेभलपमेन्ट बैंक, जनता बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक लगायतका लगानीकर्ताले कमाएका छन् । गुमाउनेमा बोटलर्स नेपाल, स्वरोजगार लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लगायत छन् ।




