साताको बुधबार नेपाल स्टक एक्सचेन्जमा २ अर्बमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४६ वटा कम्पनीको ३५ लाख ८१ हजार ४ सय ७५ कित्ता शेयर ९ हजार ८ सय ५२ पटक खरिदविक्रि हुँदा कुल २ अर्ब २ करोड ८७ लाख ५९ हजार ७ सय ७९ रुपैयाँको कारोबार भएको छ । जसमध्ये बैंकिङ समूहको मात्रै १ अर्ब ६ करोडमाथिको शेयर कारोबार भएको छ भने विकास बैंकको झन्डै साढे २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचक मंगलबारको तुलनामा १९.१५ अंकले बढेर १७७९.५७ अंकमा पुगेको छ । बैंकिङ र विकास बैंक समूह क्रमशः १४.९३ र ३२.०९ अंकले बढेका छन् । सबैभन्दा धेरै भने बीमा समूह १८०.४७ अंकले बढेको छ । त्यस्तै, उत्पादनमूलक, फाइनान्स र अन्य क्रमशः ५८.९२, १२.१७ र ५.२ अंकले बढेका छन् । होटल र जलविद्युत् भने क्रमशः ३६.१७ र २८.९१ अंकले घटेका छन् ।
बुधबार लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण एनबी बैंकमा रहेको छ, जसको १५ करोड १८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको ११ करोड १५ लाख र नेपाल बैंकको पौने ९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदा शिखर इन्स्योरेन्स, इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकको ६ करोडमाथिको शेयर कारोबार भएको छ भने सनराइज बैंक र कृषि विकास बैंकको ५ करोडमाथिको शेयर कारोबार भएको छ । प्रिमियर इन्स्योरेन्स, माछापूछ्रे बैंक लगायतको पौने ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
९० भन्दा बढी कम्पनीका लगानीकर्ताले कमाएको दिन जनता बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.९४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । टुरिजम डेभलपमेन्ट बैंक, सेवा विकास बैंक, यति डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, हाम्रो विकास बैंक, फेवा विकास बैंक र मन्जुश्री फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९२, ९.८९, ९.८६, ९.८२, ९.६४, ९.६२ र ९.१६ प्रतिशतका दरले कमाएका छन् । सेती फाइनान्स, गण्डकी विकास बैंक लगायतका लगानीकर्ताले पनि धेरै कमाएका छन् । स्वरोजगार लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९.०९ प्रतिशतका दरले गुमाएका छन् । एभरेष्ट इन्स्योरेन्स, ग्रामीण विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयर, फस्र्ट माइक्रोफाइनान्स लगायतले पनि गुमाएका छन् ।
बुधबार सवा ३ बजेसम्म शेयर कारोबार भएको थियो । हरेक दिन ३ बजेसम्म मात्रै कारोबार हुने गरेकोमा प्राविधिक समस्याका कारण १५ मिनेट कारोबार अवरुद्ध भएकाले समय थप गरिएको नेप्सेले जनाएको छ ।




