August 9th, 2016

‘सेयर बजार तलमाथि हुन्छ, हल्लाको पछि नलाग्नुस्’

minternationalसेयर बजारमा अनावश्यक हल्ला फिजाइएकाले ‘अस्वभाविक’ गिरावट आएको सरोकारवालाले बताएका छन् । मिडिया इन्टरनेशनलले मंगलबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले सेयर बजारमा आएको गिरावटमा हल्लाबाहेकका अन्य कारणहरु गौण रहेको बताएका हुन् ।

dr gopal bhattaकार्यक्रममा बोल्दै बरिष्ठ सेयर विश्लेषक डा. गोपाल भट्टले सेयर बजार अहिले वास्तविकतामा भन्दा ज्यादा हल्लाको भरमा चलिरहेको बताए । उनले सेयर बजार एकदमै संवेदनशील हुने भएकाले स–साना कुराहरुले प्रभाव पारिरहेको उल्लेख गरे । त्यसैले बजार घट्नु वा बढ्नुमा यसको र उसको हात भनेर आरोपप्रत्यारोप गर्नु उचित नहुने उनको भनाई थियो । ‘लगानीकर्ताहरुले पनि अरुलाई दोष लगाएर पन्छिन मिल्दैन ।’ उनले भने, ‘हल्लाको भरमा लगानी गर्ने र निकाल्ने आफ्नो प्रवित्ति चाहिं कति परिपक्व छ भनेर आत्ममूल्याङकन गर्नु जरुरी छ ।’ बजार घटबढ भएका बेला भाग्ने र बढेका बेला आउनु लगानीकर्ताहरुको अपरिपक्वता हुने उनको टिप्पणी थियो ।

priyaraj regmiकार्यक्रममा बोल्दै ब्रोकर एशोसियसनका अध्यक्ष प्रियराज रेग्मीले सेयर बजारको गिरावटमा आफुहरुको कुनै भूमिका नरहेको स्पष्ट पारे । बजारमा चलेको हल्लासंगै बजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्डको कमजोरीका कारण बजार अस्वभाविक रुपले ओरालिएको उनले टिप्पणी गरे । ब्रोकरको कमिशन घट्नुलाई आफुहरुले त्यति धेरै अप्ठेरो रुपले नलिएपनि काम गर्नका लागि सान्दर्भिक र उपयुक्त प्रविधिको विकास नहुँदा समस्या रहेको उनले सुनाए । ‘हामीले हाम्रो कार्यक्षेत्र अलि विस्तार होस् भनेर मागिरहेको छौँ’ उनले भने, ‘हामीलाई दोष लगाएर मात्र समस्याको समाधान हुँदैन ।’

rajan lamsalलगानीकर्ता फोरमका सदस्य राजन लम्सालले धितोपत्र बोर्ड नियमनकारी निकाय हो वा सल्लाहकार भनेर छुट्याउन मुश्किल परेको बताए । नियमन गर्ने निकायले पत्रपत्रिकामा लेख लेखरै लगानीकर्तालाई लगानी गर्न सल्लाह दिनु आपत्तिजनक रहेको उनले बताए । केही दिनअघि धितोपत्र बोर्डका अध्यक्ष एक दैनिक पत्रिकामा साना तथा नयाँ लगानीकर्ताहरु बजारमा चेपुवामा परेका भनेर एउटा लेख लेखेका थिए । लम्सालले धितोपत्र बोर्डले आगामी दिनमा त्यस्ता गल्ती दोहोर्याउन नहुने सुझाव समेत दिए । ‘सोमबार हामीले एक चरणको छलफल धितोपत्र बोर्डसंग गरिसक्यौँ ।’ लम्सालले भने ‘अब फेरि यस्तै प्रकृतिको गल्ती नदाहोरियोस् हामीले यही सुझाव दिएका छौँ ।’

नवगठित लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बजारमा उतारचढाव आइरहने भएपनि सोमबारको गिरावट अस्वभाविक र सुनियोजित रहेको टिप्पणी गरे । ‘सेयर बजार एकै विन्दुमा कहिले रहँदैन यो सत्य हो’ उनले भने ‘तर सोमबारको गिरावटले हामीलाई तर्सायो, यो कुनै योजनापछि आएको गिरावट भन्ने हामीलाई सोच्न बाध्य बनायो ।’ यद्यपी आगामी दिनमा यस्ता कुराहरुप्रति सचेत रहन सबैले ध्यान दिनुपर्ने उनले बताए ।

dipendra agrawalलगानीकर्ता फोरमका कार्यकारी सदस्य एवम् मेगा बैंकका निर्देशक दिपेन्द्र अग्रवालले धितोपत्र बोर्डको भूमिका अस्पष्ट र पक्षपाति रहेको टिप्पणी गरे । उनले ब्रोकरहरुले भूमिकामाथी पनि प्रश्न उठाए । ‘धितोपत्र बोर्डले लेखबाजी गरेर लगानीकर्ता भड्काउने, ब्रोकरहरुले आफ्नो दायरा नाघेर गतिविधि गर्ने प्रवित्तिको अन्त्य हुनुपर्छ ।’ अग्रवालले भने, ‘हामी लगानीकर्तासहित सबैले सिस्टममा चल्नुपर्छ ।’

अघिल्लो सातादेखि ओरालो लागेको सेयर बजारमा यो साताको सुरुबाटै गिरावट आएको थियो । सोमबार त सर्किट ब्रेक भएरै कारोबार स्थगित भएको थियो । सेयर बजार निरन्तर ओरालो लागेपछि धितोपत्र बोर्डले सेयर बजारमा ब्ल्याक मनिको कारोबार भईरहेको भन्दै समिति गठन गरेपछि ओरालो लागेको सेयर बजार सोमबार राति सो समिति खारेज गरेपछि कारोबार मंगलबारबाट हरियो भएको छ ।