२०७३ श्रावण २५ गते

सम्पत्ति छानविन नहुने भएपछि शेयर बजारमा रौनक : डेढ घण्टामा ३ सर्किट ब्रेक

stockमंगलबारको शेयर बजार ५ प्रतिशतले बढेपछि कारोबार समयावधि नपुग्दै बन्द भएको छ । कारोबार खुलेको १९ मिनेट मै ३ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको बजारमा सर्किट ब्रेक खुल्नासाथ ४ प्रतिशतले बढेपछि अर्को सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि १२ः१० देखि पुनः कारोबार सुचारु भएको थियो । कारोबार सुरु हुनेवित्तीकै पुनः ५ प्रतिशतले बढेपछि मंगलबारका लागि कारोबार बन्द भएको छ । शेयर बजारको नियम अनुसार पहिलो सर्किट ब्रेकमा नेप्से १५ मिनेट सम्म कारोबार बन्द रहन्छ भने दोस्रो ब्रेक ३० मिनेटको हुन्छ । 

सोमबार पनि सर्किट ब्रेक भएर कारोबार स्थगित भएको थियो । यद्यपि, सोमबार ५ प्रतिशतले बजार घटेको थियो । बजारमा लगातार गिरावट आउन थालेको र लगानीकर्ताले धितोपत्र बोर्डलाई दोषी ठहर्याउन थालेपछि सोमबार बेलुका सम्पत्ति शुद्धिकरण सम्बन्धि छानविनका लागि केही साताअघि मात्रै गठन गरिएको समिति खारेज गरियो । शेयर बजारमा कालोधनको कारोबार भइरहेको आशंकमा छानविनका लागि बोर्डले समिति बनाएको थियो । यद्यपि, लगानीकर्ताहरुबाट यसको चौतर्फी विरोध आएपछि बाध्य भएर बोर्डले समिति नै खारेज गर्यो । सो समिति खारेज भएपछिको पहिलो कारोबारको दिनमा नै शेयर बजार ५ प्रतिशतले बढेर १७६०.४२ अंकमा आइपुगेको छ । 

बजारमा जम्मा १ घण्टा ४० मिनेट कारोबार हुँदा झन्डै ३० करोड बराबरको कारोबार भएको छ । सो अवधिमा ८४ वटा कम्पनीको ३ लाख १० हजार ८ सय ७७ कित्ता शेयर १ हजार १ सय १२ पटक खरिदविक्रि हुँदा २९ करोड ८३ लाख ३२ हजार ७ सय ८५ रुपैयाँको कारोबार भएको हो । जसमध्ये, नेपाल बैंकको ४ करोड २० लाख, एभरेष्ट बैंकको ४ करोड १७ लाख, सिद्धार्थ बैंकको ३ करोड ५६ लाख, एनबी बैंकको ३ करोड ४८ लाख, इन्भेष्टमेन्ट बैंकको २ करोड २२ लाख र शिखर इन्स्योरेन्सको १ करोडभन्दा माथिको शेयर कारोबार भएको छ । त्यस्तै, एनएमबी बैंकको पौने ८८ लाख, ग्लोबल आईएमई बैंकको ८२ लाख ८१ हजार, सनराइज बैंकको ७८ लाख ६६ हजार र हिमालयन जेनेरल इन्स्योरेन्सको ७८ लाख १८ हजार रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । 

८८ वटा कम्पनीका लगानीकर्ताले मंगलबार आफ्नो सम्पत्ति बढाएका छन् । यी कम्पनीहरुको शेयर मूल्य पौने २ देखि १० प्रतिशतसम्म बढेको छ । १० प्रतिशतका दरले सम्पत्ति बढाउनेमा प्राइम कमर्सियल बैंक, नेपाल बैंक र शिखर इन्स्योरेन्सका लगानीकर्ता छन् । एभरेष्ट इन्स्योरेन्स, हिमालयन बैंक, एनएमबी बैंक, प्राइम लाइफ इन्स्योरेन्स, मेगा बैंक, कृषि विकास बैंक, सानिमा बैंक, हिमालयन जेनेरल इन्स्योरेन्स, काष्टमण्डप डेभलपमेन्ट बैंक र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले साढे ९ प्रतिशतभन्दा बढीका दरले सम्पत्ति बढाएका छन् ।