
बैंकिङ खबर । यस साता नेप्सेमा २८ अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पाँच दिन खुल्ला रहेको नेप्से ३ दिन घटेर २ दिन बढेको हो ।यस साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेको छ। गत साता साढे ८ प्रतिशत बढेको नेप्से यस साता सो दरमा घटेको हो।
गत साताको अन्तिम कारोबार दिन २०५५.४५ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता १९६४.०२ विन्दुमा झरेको छ। यस साता बजारमा देखिएको गिरावटलाई करेक्सनको संज्ञा दिइएको छ। अघिल्लो साता १६२ अंक बढेको बजार यस साता ९१.४३ अंक घटेको छ। सोही कारण यस साता बजार करेक्सन भएको विश्लेषकहरु बताउँछन्।
अहिले शेयर बजारमा बुलिश ट्रेण्ड चलिरहेका कारण आगामी दिनमा बजार पुनः सकारात्मक दिशातर्फ अघि बढ्ने उनको भनाइ छ। करेक्सन भएर बढेको बजार स्वस्थ्य र स्थिर हुने उनले बताए।
नेप्सेसँगै यस साता सेन्सेटिभ इण्डेक्स र कारोबार रकममा पनि गिरावट आएको छ। गत साता ३९२.२९ विन्दुमा बन्द भएको सेन्सेटिभ इण्डेक्स यस साता १८.२७ अंक अथाएत ४.६६ प्रतिशत घटेर ३७४.०२ विन्दुमा झरेको छ।
त्यस्तै, गत साता ४० अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस साता २८ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा ३०.५० प्रतिशत अर्थात १२ अर्ब ५० करोड रुपैयाँ कम हो। यस साता नेप्सेको कुल बजार पूँजीकरण १ खर्ब २२ अर्ब रुपैयाँ घटेर २७ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। यस साता कारोबारमा आएको एक उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक २.४४ प्रतिशत अर्थात ४२.२९ अंक बढेको छ।