
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बन्न आधा दर्जन प्रतिष्पर्धी देखिएका छन् । अहिले राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक छन् । उनीहरु मध्ये २ जनालाई सरकारले डेपुटी गभर्नर नियुक्ति गर्ने हो ।
आउँदो फागुन १८ गतेबाट राष्ट्र बैंकको दुवै डेपुटी गभर्नर पद रिक्त हुँदैछ । यि दुइ पदका लागि ६ जनाबीच प्रतिष्पर्धा हुने देखिएको छ । वरियताक्रमका आधारमा नभई सरकारले जसलाई चाह्यो उसलाई नै बनाउन सक्ने भएका कारण यो व्यक्ति नै अबको डेपुटी गभर्नर बन्छन् भन्न सकिने अवस्था छैन । तथापी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार रहेको र पार्टीका महासचिव विष्णु पौडेल नै अर्थमन्त्री रहेका कारण अब बन्ने डेपुटी गभर्नर नेकपाका भक्तिगान गाउने नै बन्ने कन्फर्म छ ।
अहिले डेपुटी गभर्नरका लागि शक्ति केन्द्र धाउनेहरुमा अर्थमन्त्रालयको सल्लाहकारमा नियुक्त भएका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम ढुंगाना, भुक्तानी प्रणाली विभागका भुवन कँडेल, कार्यकारी निर्देशक बमबहादुर मिश्र लगायतका छन् ।
डेपुटी गभर्नरका आकांक्षी अर्का डा. गुणाकर भट्ट समेत हुन् । राष्ट्र बैंकको प्रवक्ता समेतको जिम्बेवारीमा रहेका अनुसन्धान विभाग प्रमुख भट्ट आकांक्षी भए पनि उनले शक्ति केन्द्रमा दौडधुप भने गरेका छैनन् । बुवाको निधनको शोकमा रहेका उनी सरकारले बनाए स्वीकार गर्ने भनेर दौडधुप गरेका छैनन् । माथि उल्लेखित नामहरुबाटै डेपुटी गभर्नर बन्ने सम्भावना छ ।



