नवराज कुँवर / सेयर बजार निरन्तर ओरालो लागेपछि यहाँका लगानीकर्तामा अहिले एक किसिमको त्रास फैलिएको छ । नयाँ र साना लगानीकर्ताहरु सबैभन्दा बढी यो परिस्थितिको चेपुवामा परेका छन् । यसरी बजार घट्नुमा नियामक नेपाल धितोपत्र बोर्डकै ‘नियोजित भुमिका’ रहेको आरोप केही लगानीकर्ताले लगाइरहेका छन् ।
नियामक निकाय भएपनि आफुविरुद्ध बजार विथोलेको आरोप लागेपछि सोमबार धितोपत्र बोर्डले एउटा विज्ञप्ति जारी गरेरै आरोपको खण्डन गरेको छ । विज्ञप्तिमा उसले सेयर बजारका लगानीकर्तालाई हल्लाका पछि नलागी लगानी गर्न आग्रह गरेको छ । सोमबार बजार ८८ दशमलब ८१ अंकले घटेर सर्किट ब्रेक लगाउँदै कारोबार बन्द भएपछि बोर्डले लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गरेको हो । धितोपत्र बोर्डलाई लगाइएको आरोप निराधार र पुर्वग्रही भएको बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए ।
नेपालको पुँजी बजारलाई थप व्यवस्थित र लगानीकर्ता मैत्री बनाउने अभियानमा लागेपनि बजार घटाउन लागेको आरोप लगाइएको भन्दै बोर्डले आपत्ति समेत जनाएको छ । बोर्डले आफ्नो उद्देश्य बजार घटाउनु वा बढाउनु नभएर लगानीकर्ताको हित सुरक्षित गर्ने तर्फ केन्द्रित रहेको समेत स्पष्ट पारेको छ । तर लगानीकर्ताहरु भने बोर्डको यस्तो स्पष्टिकरणलाई ‘टालटुले’ को संज्ञा दिन्छन् । लगानीकर्ताहरुको छाता संस्था इन्भेष्टर फोरमका महासचिव बच्चुराम रिमाल भन्छन्, ‘विज्ञप्तिबाजी गरेर केही हुँदैन, पहिला काममा स्वच्छता देखाओस् बोर्डले अनि पत्याउँला ।’
त्यसो त बजारलाई नजिकबाट नियालीरहेकाहरुले पनि धितोपत्र बोर्डको भूमिकालाई धमिलो र अस्पष्ट देखिरहेका छन् । सेयर विश्लेषक रविन्द्र भट्टराई बजारको नियामक नेपाल धितोपत्र बोर्डले आफ्नो परिधिलाई पार गर्दै लगानीकर्तालाई खुलेआम सेयर किन्न र बेच्नका लागि सल्लाह दिएको भन्दै त्यसले बोर्ड नियामक हो वा लगानी सल्लाहकार कम्पनी हो भन्ने छुट्ट्याउन गाह्रो भएको टिप्पणी गर्छन् । बोर्ड लगानीकर्ताको संरक्षक हो, अभिभावक हो तर नोक्सानीको क्षतिपूर्तिकर्ता वा बजारको खेलाडी होइन । भट्टराई प्रश्न गर्छन्, ‘रेफ्रीले नै यो टिमले खेल जित्छ र यसले हार्छ भनेर भन्न थालेपछि खेलको मर्यादा कसरी कायम हुन सक्छ ?’
पछिल्लो समय बजार व्यवस्थापनका लागि केही नीति ल्याएर प्रशंसा कमाएर धितोपत्र बोर्ड नेपाल स्टक एक्सेन्ज (नेप्स)संगको असमन्वय र बजारको गिरावटका कारण आलोचित बनिरहेको छ । तर पछिल्लो आलोचना र आरोपको दोष भने बोर्डले ब्रोकरहरुलाई लगाएको छ । ‘यो सब चलखेल ब्रोकरहरुबाट भएको हो । बोर्ड श्रोतले बैंकिङ खबरसंग भन्यो, ‘यहाँ ब्रोकरहरुले चाहेभने सरकार ढाल्ने क्षमता राख्छन् बोर्ड त के भयो र ?’



