कारोबार खुलेको ३ घण्टा नबित्दै शेयर बजारमा सर्किट ब्रेक लागेको छ । लामो समयको अन्तरालपछि शेयर बजारका सर्किट ब्रेक लागेको हो । बजार खुलेको तीन घण्टा नबित्दै बजार ५ प्रतिशतले घटेपछि सोमबार थप कारोबार भएन । अहिले नेप्से परिसूचक १६७५.९१ अंकमा छ ।
बजार घट्दा मात्रै चार कम्पनीको शेयर मूल्य बढेको छ । माउण्ट मकालु डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्त, हाम्रो विकास बैंक र युनिलिभर नेपालको क्रमशः ७.०१, ४.६२ र २ प्रतिशतले बढेको छ । २३ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशतदेखि १० प्रतिशतसम्म घटको छ ।
एनबी बैंकको १० करोडमाथिको कारोबार भएको छ । नेपाल बैंकको साढे ५ करोड र सिद्धार्थ बैंकको सवा ५ करोडमाथिको शेयर कारोबार भएको छ । एनएमबी बैंक र नेशनल लाइफ इन्स्योरेन्सको ३ करोडमाथिको शेयर कारोबार हुँदा एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, इन्भेष्टमेन्ट बैंक, शिखर इन्स्योरेन्स, सानिमा बैंक लगायतको २ करोड माथिको शेयर कारोबार भएको छ । समग्रमा ८७ करोड ९३ लाख ८१ हजार ८ सय ११ रुपैयाँको शेयर कारोबार भएको छ ।
उत्पादनमूलक समूह ८.४५ अंकले बढेको छ भने अन्य सबै समूह घटेका छन् । बीमा ऐतिहासिक ५३७.८४ अंकले घटेको छ । जलविद्युत्, वाणिज्य बैंक, विकास बैंक, अन्य र फाइनान्स समूह क्रमशः ११७.३५, ९२.३८, ६९.६१, ६२.९६, ३२.१ र ३०.३८ अंकले घटेका छन् ।