
बैंकिङ खबर । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । लघुवित्तले महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्ज गरी आजबाट एकीकृत कारोबार सुरु गरेको हो । कास्की प्रधान कार्यालय रहेको जाल्पा लघुवित्त र दाङ प्रधान कार्यालय रहेको महिला सामुदायिक लघुवित्त संस्थाले मंगलबार पोखरामा एक कार्यक्रम बीच एकीकृत कारोबार सुरु गरेको हुन् । उक्त कार्यक्रम संस्थाका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षता तथा राष्ट्र बैंक पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा मंगलबार पोखरामा सम्पन्न भएको हो । मर्जर पश्चात संस्थाको जारी तथा चुक्ता पुँजी १६ करोड रुपैयाँ पुगेको छ । संस्थाले हाल २० जिल्ला कार्यक्षेत्र विस्तार गरी करिब ८३ हजार सदस्य मध्येमा करिब ३८ हजार सदस्यलाई ऋण प्रवाह गरेको छ । मर्जर पश्चात संस्थाले ५७ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ । हाल दुवै लघुवित्तको लगानीमा रहिरहेको ऋण रकम ३ अर्ब ४० करोड र बचत २ अर्ब रहेको संस्थाले जनाएको छ।


