
बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक उत्सव अवसरमा आफ्ना ग्राहकहरुलाई सूलभ दरमा कर्जा प्रवाह गर्ने भएको छ । लघुवित्त संस्थाले मंसिर १४ गते आइतबार दशौं वार्षिक उत्सव मनाउँदै आफ्ना ग्राहकहरुलाई कर्जादर घटाउने निर्णय गरेको हो । ग्राहक मुखी सेवालाई अंगिकार गर्दै ग्राहक सुरक्षण सिद्धान्त पालना गर्न कटिबद्ध यस संस्थाले बार्षिकोत्सवको अवसरमा ग्राहक सदस्यहरुलाई धितो संरक्षणमा आधारित कर्जाको ब्याजदर १५ प्रतिशतबाट घटाई वार्षिक १३ प्रतिशत कायम गरेको छ ।संस्थाले सोही अवसरमा काठमाण्डौको बुढानिलकण्ठ–४ चण्डेश्वरीस्थित पवित्र समाज नेपालद्धारा सञ्चालित अनाथ बालबालिका तथा बृद्धा आश्रमलाई सामजिक उत्तरदायित्व अन्तर्गत खाद्य सामाग्रीहरु तथा लत्ता कपडा समेत वितरण गरेको हो । बार्षिकोत्सवलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले उत्प्रेरित कर्मचारी तथा उपयुक्त नीति कार्यान्वयबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै सन्तुष्ट ग्राहक निर्माणबाट कार्यक्रम विकास र विस्तार गरी शेयरधनीलाई उचित प्रतिफल संगै गरिबी न्यूनिकरणमा योगदान पुर्याउन संस्थाले निरन्तर प्रयास गर्ने बताए ।


