गत सातादेखि नै निरन्तर ओरालो लागिरहेको शेयर बजार यो साताको सुरुको दिनमा पनि घटेरै बन्द भएको छ । कारोबार खुलेको २ घण्टामा २३ अंकले बढेको बजार अन्ततः ३.८८ अंकले घटेर बन्द भएको हो । आइतबार नेप्से परिसूचक १७६४.७२ अंकमा छ । उत्पादनमूलक र बीमा समूहले बजार घटाएका छन् भने वाणिज्य बैंक र जलविद्युत्ले पनि सघाएका छन् ।
बजारमा गिरावट कायम रहेपनि कारोबार रकम भने घटेको छैन । आइतबार डेढ अर्बमाथिको कारोबार भएको छ । दिनभरिमा १ सय ४१ वटा कम्पनीको २१ लाख १६ हजार ३ सय ५४ कित्ता शेयर ८ हजार ६८ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ५३ करोड १४ लाख ७४ हजार ६ सय ७६ रुपैयाँको कारोबार भएको हो । कारोबार रकम गत साताको विहीबारको तुलनामा थोरै बढेको हो । शुक्रबार १ अर्ब ५० करोडको कारोबार भएको थियो ।
बजार ओरालो लागेपनि वाणिज्य बैंकप्रति लगानीकर्ताको आकर्षण उल्लेख्य रहेको छ । आइतबार एनबी बैंकको साढे ११ करोड, नेपाल बैंकको पौने ११ करोड र सिद्धार्थ बैंकको १० करोड ६छ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ८ करोड ७४ लाख, एनएमबी बैंकको ६ करोड ८८ लाख र नेपाल इन्भेष्मेन्ट बैंकको ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । माछापूछ्रे बैंक, नेको इन्स्योरेन्स, सनराइज बैंक, अरुण हाइड्रो लगायतको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।
माउन्ट मकालु डेभलपमेन्ट बैंक, किसान माइक्रोफाइनान्स र कन्काई विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् भने वोमी माइक्रोफाइनान्सका लगानीकर्ता ९.९७ प्रतिशतले कमाएका छन् । बरुण हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी लगायतले पनि कमाएका छन् । गुमाउने कम्पनीको अग्रस्थानमा रहेको बोटलर्स नेपालका लगानीकर्ताले झन्डै १० प्रतिशतका दरले गुमाएका छन् । एनएमबी माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतले पनि गुमाएका छन् ।
उत्पादनमूलक, बीमा, वाणिज्य बैंक र जलविद्युत् क्रमशः ८१.९९, ५८.४, ७.२६ र ०.०२ अंकले घट्दा होटल, विकास बैंक, फाइनान्स र अन्य क्रमशः ४.३६, ३.९७, ०.६३ र १७.६४ अंकले बढेका छन् ।