August 5th, 2016

नयाँ सरकारलाई नेप्सेले यसरी गर्यो स्वागत (सातागत विश्लेषण)

economicसाताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा साढे १ अर्बको शेयर कारोबार भयो । दिनभरिमा १ सय ४२ वटा कम्पनीको २७ लाख ५१ हजार ९ कित्ता शेयर ७ हजार ७ सय ३४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ५० करोड ९ लाख ९६ हजार ७ सय ८४ रुपैयाँको कारोबार भएको हो । बुधबारको तुलनामा कारोबार रकम बढेको भएपनि साताभरको अवस्थालाई हेर्दा शेयर कारोबारको अवस्था खस्किएको देखिन्छ । साताभर नेप्सेमा ७ अर्ब ८० करोड ११ लाख ८३ हजार २ सय १० रुपैयाँको शेयर कारोबार भयो, जुन गत साताको तुलनामा झन्डै २ अर्बले घटेको हो । गत साता साढे ९ अर्बभन्दा माथिको शेयर कारोबार भएको थियो । 

नेप्से परिसूचक विहिबार एकैदिन ४५.१२ अंकले घटेर १७६८.६० अंकमा कायम भयो । गत साताको विहीबार शेयर परिसूचक १८७७.९३ अंकमा थियो । यस आधारबाट हेर्दा शेयर बजार यो साता १०९.३३ अंकले घटेको छ । शेयर बजार यसरी घट्नुका कसैले सरकार परिवर्तनलाई कारक मानेका छन् भने कसैले शेयर बजारमा कालोधन भित्रिएकाले यस्तो प्रभाव देखिएको भनेका छन् । यद्यपि, शेयर विश्लेषकहरुले भने शेयर बजारमा भएको धेरथोर कालोधनले बजारको घटबढमा कुनै प्रभाव नपार्ने बताएका छन् । सरकार परिवर्तनले भने शेयर लगानीकर्तालाई ठूलै झट्का दिएको देखिएको छ । 

सरकार ढल्ने हल्ला चलेदेखि नै खासै गति लिन नसकेको बजार यो सातामा आइतबार देखि नै लगातार दोहोरो अंकले घटिरह्यो । आइतबार १५.१७ अंक, सोमबार १७.३५ अंक, मंगलबार १८.९४, बुधबार १२.७५  अंक र विहीबार ४५.१२ अंकले घट्यो । राजनीतिक अस्थिरताका कारण कुनै समूहमा पनि लगानीकर्ताको खास आकर्षण रहेन । केही लगानीकर्ताहरु वाणिज्य बैंकतिर अडिए । बैंकहरुको नीति स्पष्ट हुने र लगानीको प्रतिफल आफ्नै वेभसाइट राख्ने भएकाले यो क्षेत्रमा लगानी गर्नु दीर्घकालीन रुपले हेर्दा फाइदाजनक नै हुने बताउँछन् मर्चेन्ट बैंकर्स संघका अध्यक्ष प्रवीण रमण पराजुली । शेयर बजारबारे राम्रोसँग बुझेका ठूला लगानीकर्ताहरु वाणिज्य बैंकतिर आकर्षित छन् । यसबाहेक, पुँजी वृद्धिका कारण बैंकहरु मजबुद भइरहेको उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणबाट स्पष्ट हुन्छ । यसले पनि वाणिज्य बैंकतर्फ लगानीकर्ताको आकर्षण रहिरहन केही हदसम्म सघाउ पुर्याएको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल बैंक लि. अग्रस्थानमा रहेको छ, जसको ४८ करोड ७२ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याको आधारमा भने लक्ष्मी भ्याल्यु फण्ड १ अग्रस्थानमा रहेको छ, जसको ३० लाख ९१ हजार कित्ता शेयर खरिदविक्रि भएका छन् । त्यस्तै, कारोबार संख्याको आधारमा अग्रस्थानमा रहेको प्राइम कमर्सियल बैंकको शेयर २ हजार ६९ पटक कारोबार भएको छ । लक्ष्मी भ्यालु फण्ड १, माउण्ट मकालु डेभलपमेन्ट बैंकm ललितपूर फाइनान्स लगायतका लगानीकर्ताले कमाएका छन् भने गुमाउनेमा सगरमाथा इन्स्योरेन्स, बोटलर्स नेपाल लगायत छन् ।