नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने अनेक प्रयास गरेपनि बैंकिङ लगानी त्यतापट्टि आकर्षित हुन सकेको छैन । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७२/७३ जस्तै चालु आर्थिक वर्ष ०७३/७४ पनि उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था लागु गरेको छ । तर बैंक तथा वित्तीय संस्थाको लगानी त्यतापट्टि केन्द्रित हुन सकेको छैन । यद्यपी राष्ट्र बैंकले मोद्रिक नीतिमार्फत ल्याएको व्यवस्थाले विगतको तुलनामा उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानी बढाएको भएपनि अपेक्षित लगानी अझै हुन सकेको छैन । जसका कारण भएका लगानी समेत प्रभावकारी भएका छैनन् ।
कति छ उत्पादनमूलक क्षेत्रमा बैंकिङ लगानी ?
राष्ट्र बैंकको तथ्यांकअनुसार विगत पाँच वर्षको तुलनामा कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब सवा दुई गुणाले बढेको छ । आव ०६८/६९ मा २७ अर्ब ९४ करोडमात्रै लगानी थियो । तर गत आवको फागुन मसान्तसम्ममा आइपुग्दा उत्पादनमूलक क्षेत्रमा ६२ अर्ब ६२ करोड बैंकिङ लगानी देखिन्छ । लगानी बढेको देखिएपनि पर्याप्त भने देखिदैन । अझै पनि उत्पादनमूलक क्षेत्रभन्दा अन्तै बैंकहरुको लगानी ओहिरिरहेको छ ।
कहाँ गर्दैछन् बैंकहरुले बढी लगानी ?
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी व्यापार (ट्रडिङ)तर्फ केन्द्रित भएको देखिएको छ । व्यापारिक घरानाको ट्रेडिङतर्फको आकर्षणले बैंक तथा वित्तीय संस्थाको लगानी समेत यसै क्षेत्रमा बढी प्रवाह भएको हो । बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा गरेको लगानी पाँच वर्षको अवधिमा २ गुणाभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७२/७३ को ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा १६ खर्ब २४ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेका छन् । आव ०६८/६९ को सोही अवधिमा भने यस्तो लगानी ७ खर्ब ७७ अर्ब सीमित थियो ।
खुद्रा व्यापारमा लगानी
केन्द्रीय बैंकको तथ्यांकअनुसार विगत पाँच वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सबैभन्दा बढी थोक तथा खुद्रा ब्यापारमा लगानी रहेको देखिन्छ । उक्त क्षेत्रअन्तर्गत वित्तीय संस्थाहरुले लामो अवधिसम्म रहने सामाग्री, डिलर, फ्रेन्चचाइज, आयात तथा निर्यातामा लगानी गरेको देखिएको छ । यस्तो क्षेत्रमा गत आवको फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुले ३ खर्ब ५८ अर्ब लगानी गरेका छन् । यो रकम पाँच वर्षको अवधिको तुलनामा करिब साढे दुई गुणाले बढी हो । आग ०६८/६९ मा यस्तो क्षेत्रमा वित्तीय संस्थाहरुको लगानी १ खर्ब ५५ करोडमा सीमित रहेको तथ्यांकले देखाएको छ । पछिल्लो समयमा नेपालमा आयात व्यापार बढ्दै गएको छ । त्यसैले यस्तो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको लगानी पनि बढ्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जोखिम कम हुने क्षेत्रमा लगानी बढी
बैंक तथा वित्तीय संस्थाहरु जोखिम कम हुने क्षेत्रमा लागनी गर्न चाहान्छन् । त्यसैले पनि थोक तथा खुद्रा व्यवसायतर्फ बैंक तथा वित्तीय संस्थाको आकर्षण बढेको डेभलपमेन्ट विकास बैंकर्स एशोसियसनका अध्यक्ष कृष्णराज लामिछानेले बताए । उत्पादनमूलक तथा कृषि र जलविद्युत क्षेत्रको तुलनामा ट्रेडिङ व्यवसायतर्फ लगानी बढ्नु अर्थतन्त्रका लागि सकारात्मक मानिँदैन । खासगरी राज्यले उत्पादनमूलक उद्योगबाट भन्दा पनि ट्रेडिङ क्षेत्रबाट तत्काल बढी राजस्व पाउने भएकाले उत्पादनमूलक क्षेत्र उपेक्षित भएको देखिएको छ रेमिट्यान्सका कारण मुलुकमा क्रयशक्ति बढेको फाइदा व्यवसायीहरुले तत्कालका लागि उठाए पनि यो दीर्घकालीन नहुने यस क्षेत्रका विज्ञहरु बताउँछन् ।