August 3rd, 2016

शेयर बजार घट्ने क्रम अझै रोकिएन, सबै समूह ओरालोतर्फ

stockसाताको सुरुको दिनदेखि नै घट्ने क्रमम रहेको शेयर बजार बुधबार पनि घटेरै बन्द भएको छ । लगातार बढेर १९ सय अंक छुन लागिसकेको बजार अहिले १८१३.७२ अंकमा छ । बुधबार नेप्से परिसूचक १२.७५ अंकले घटेको हो । बुधबार कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य क्रमशः १३.४८, १०.८९, ११.०१, १७.५८, १०.५५, ३३.८२, ४१.४ र ३.७६ अंकले घटेका छन् । 

बजारसँगै कारोबार रकम पनि क्रमशः घट्ने क्रममा रहेको छ । लगातार बढेर पौने ३ अर्बसम्मको कारोबार भइसकेको बजारमा यो साता कुनै दिनको कारोबारले पनि २ अर्ब छुन सकेको छैन । बुधबार १ सय ३ वटा कम्पनीको २४ लाख ८३ हजार ९ सय ४६ कित्ता शेयर ६ हजार २ सय ५७ पटक किनबेच हुँदा कुल १ अर्ब २७ करोड ९२ लाख ६३ हजार ६ सय १४ रुपैयाँको कारोबार भएको छ । 

कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको एनबी बैंकको ९ करोड २२ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको ७ करोड २१ लाख, नेपाल बैंकको ६ करोड ९१ लाख र नेशनल लाइफ इन्स्योरेन्सको ५ करोड ३८ लाख रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । प्राइम बैंक, शिखर इन्स्योरेन्स, इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकको ४ करोडमाथिको कारोबार हुँदा प्रिमियर इन्स्योरेन्स, एस डेभलपमेन्ट बैंक लगायतको ३ करोडमाथिको कारोबार भएको छ । 

बुधबार कुनै पनि कम्पनीका लगानीकर्ताले धेरै कमाएनन् । धेरै कमाउने कम्पनीको अग्रस्थानमा रहेको एनइमबी माइक्रोफाइनान्सका लगानीकर्ताले जम्मा ५.१४ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । रिलायबल माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त, एस डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक लगायतले पनि थोरै कमाएका छन् । गुमाउनेमा ललितपूर फाइनान्स, बोटलर्स नेपाल, किसान माइक्रोफाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक, तिनाउ डेभलपमेन्ट बैंक लगायत छन् ।