August 2nd, 2016

मंगलबार पनि ओर्लियो नेप्से : ललितपूर फाइनान्सका लगानीकर्ताले कमाए

economicमंगलबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ४२ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३९ वटा कम्पनीको ३२ लाख ९८ हजार कित्ता शेयर ६ हजार ८ सय ६६ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ४२ करोड ३२ लाख ९ हजार ३ सय २० रुपैयाँको कारोबार भएको हो । कारोबार रकम सोमबारको तुलनामा घटेको हो । सोमबार १ अर्ब ८४ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको थियो । 

नेप्से परिसूचक साताको सुरुको दिनदेखि नै दोहोरो अंकमा घटिरहेको छ । मंगलबार पनि नेप्से १८.९४ अंकले घटेर १८२६.४७ अंकमा कायम भएको छ । उत्पादनमूलक बाहेक सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा १४६.२८ अंकले घटेको छ । वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः १८.३, ३७.६७, २३.९८, २९.०८, ३.९२ र ०.८६ अंकले घटेका छन् । उत्पादनमूलक भने ३४.०३ अंकले बढेको छ । 

बजार घट्दो क्रममा रहेपनि लगानीकर्ताको आकर्षण भने वाणिज्य बैंकहरुमै बढी पाइएको छ । मंगलबार पनि धेरै कारोबार हुने कम्पनीहरुको अग्रस्थानमा प्राइम कमर्सियल बैंक रहेको छ, जसको झन्डै पौने २० करोडको कारोबार भएको छ । सिद्धार्थ बैंकको झन्डै पौने ११ करोड रुपैयाँबराबरको शेयर कारोबार हुँदा नेपाल बैंकको सवा ८ करोड, एमबी बैंकको ७ करोड ४१ लाख, कृषि विकास बैंकको ५ करोड ८४ लाख र इन्भेष्टमेन्ट बैंकको ४ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंक र एनएमबी बैंकको ३ करोडमाथिको कारोबार भएको छ भने माछापूछ्रे बैंक र अरुण हाइड्रोपावरको २ करोडमाथिको शेयर कारोबार भएको छ । 

ललितपूर फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । बोटलर्स नेपाल, महिला सहयात्रा माइक्रोफाइनान्स, लक्ष्मी भ्यालु फण्ड १, साझा विकास बैंक लगायतले पनि कमाएका छन् । गुमाउनेमा प्रोग्रसिभ फाइनान्स, लुम्बिनी फाइनान्स, सुर्या लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक, एनआईडीसी क्यापिटल मार्केट्स लगायत छन् ।