August 1st, 2016

सोमबार पनि घट्यो शेयर बजार : १ अर्ब ८४ करोडको पुँजी परिचालन

economicसाताको सुरुको दिनदेखि नै घट्ने क्रममा रहेको शेयर बजार सोमबार पनि घटेरै बन्द भएको छ । सोमबार नेप्से परिसूचक १७.३५ अंकले घटेर १८४५.४१ अंकमा कायम भएको छ । होटलबाहेक सबै समूहहरु घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ६४.१६ अंकले घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः १६.४४, ३२.४३, २५.३, १.४४, ४२.५८ र ६.६५ अंकले घटेका छन् । होटल भने ४०.२१ अंकले बढेको छ । 

सोमबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ८४ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४० वटा कम्पनीको ५१ लाख ९ हजार १ सय १८ कित्ता शेयर ७ हजार ३ सय ६४ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ८४ करोड २६ लाख ३९ हजार ४ सय ८२ रुपैयाँको कारोबार भएको छ । परिसूचक घटेपनि कारोबार रकम भने आइतबारको तुलनामा बढेको हो । आइतबार १ अर्ब ७५ करोड रुपैयाँ बराबरको पुँजी परिचालन भएको थियो । 

कुल कारोबारमध्ये सोमबार नविल बैंकको प्रोमोटर शेयरको साढे २७ करोड, एनबी बैंकको पौने १६ करोड र प्राइम कमर्सियल बैंकको १२ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । नेपाल बैंकको ९ करोड ३१ लाख, सिद्धार्थ बैंकको ७ करोड १७ लाख, सेन्चुरी कमर्सियल बैंकको ४ करोड २३ लाख, कृषि विकास बैंकको ३ करोड ४२ लाख, प्रिमियर इन्स्योरेन्सको ३ करोड र सनराइज बैंकको २ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको लक्ष्मी भ्यालु फण्ड १ का लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । माउन्ट मकालु डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । ललितपूर फाइनान्स, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १, राष्ट्रिय बीमा कम्पनी लगायतले पनि कमाएका छन् । गुमाउनेमा काबेली विकास बैंक, बोटलर्स नेपाल, कन्काई विकास बैंक लगायत छन् ।