July 31st, 2016

आइतबारको शेयर बजार : कारोबार र परिसूचक दुबै ओर्लियो

economicसाताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा पौने २ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४१ वटा कम्पनीको ३५ लाख ९४ हजार ६ सय १९ कित्ता शेयर ८ हजार १ सय ८० पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ७५ करोड ५० लाख ७४ हजार १० रुपैयाँको कारोबार भएको हो । कारोबार रकम गत साताको अन्तिम दिनको तुलनामा घटेको हो । विहीबार २ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो । केही दिनदेखि लगातार २ अर्बमाथिको कारोबार भइरहेको बजारमा आइतबार एक्कासी ठूलो गिरावट आएको हो । 

कारोबार रकमसँगै आइतबार बजार पनि दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक १५.१७ अंकले घटेर १८६२.७६ अंकमा कायम भएको छ । जलविद्युत् र अन्यबाहेक सबै समूहमा लगानीकर्ताको आकर्षण घटेको पाइएको छ । सबैभन्दा धेरै होटल समूह ९५.९६ अंकले घट्दा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, बीमा र उत्पादनमूलक क्रमशः २०.९३, ०.३९, ११.९२, ४५.३७ र ३६.८९ अंकले घटेका छन् । जलविद्युत् र अन्य भने क्रमशः २३.५८ र १.१५ अंकले बढेका छन् । 

कारोबारका आधारमा आइतबार पनि अग्रस्थानमा नेपाल बैंक नै रहेको छ जसको १४ करोड ८४ लाखभन्दा माथिको शेयर कारोबार भएको छ । त्यस्तै, कैलाश विकास बैंकको ८ करोडमाथिको शेयर कारोबार हुँदा इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक र अरुण हाइड्रोपावरको ६ करोडमाथिको कारोबार भएको छ भने एनबी बैंक र सनराइज बैंकको ५ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, सेन्चुरी बैंक, बुटवल पावर कम्पनी लगायतको ४ करोडभन्दा बढीको कारोबार भएको छ । 

माउन्ट मकालु डेभलपमेन्ट बैंक, अरुण हाइड्रोपावर र ललितपूर फाइनान्सका लगानीकर्ताले क्रमशः ९.९६, ९.९३ र ९.७३ प्रतिशतका दरले कमाएका छन् । किसान माइक्रोफाइनान्स, काबेली विकास बैंक, एनआईडीसी क्यापिटल मार्केट्स, बुटवल पावर कम्पनी लगायतले पनि कमाएका छन् । गुमाउनेमा गुह्येश्वरी फाइनान्स, सिनर्जी फाइनान्स, तारागाउँ रिजेन्सी, सोल्टी होटल लगायत छन् ।