July 29th, 2016

ब्रोकरको कमिशन घट्दा शेयर बजारमा उत्साह देखियो : साताभर साढे ९ अर्बमाथिको कारोबार

economicसाताको अन्तिम दिन शेयर बजार ३.५२ अंकले घटी १८७७.९३ अंकमा पुगेर बन्द भयो । फाइनान्स र बीमाबाहेक सबै समूह घट्यो । कारोबार भने बुधबारको तुलनामा थोरै बढ्यो । विहिबारको ४ घण्टाको शेयर कारोबार अवधिमा १ सय ४७ वटा कम्पनीको १० लाख ७० हजार ७ सय ४६ कित्ता शेयर १० हजार १ सय २३ पटक खरिदविक्रि हुँदा कुल २ अर्ब ३० करोड रुपैयाँभन्दा माथिको कारोबार भयो । 

विहिबारबाहेक कारोबार भएका बाँकी ३ दिनमा नै शेयर बजार निरन्तर उकालो लाग्यो । यसै सातादेखि शेयर ब्रोकरको नयाँ कमिशन दर लागू भयो । शेयर किन्दा ब्रोकरलाई तिर्नुपर्ने कमिशन ४० प्रतिशत घटेपछि शेयर कारोबारसँगै बजार पनि बढ्यो । साताको बुधबार शेयर बजार आजसम्मकै उच्च विन्दु १८८१.४५ अंकमा पुग्यो भने साताको मंगलबार आजसम्मकै उच्च पौने ३ अर्बको शेयर कारोबार भयो । समग्रमा यो साता साढे ९ अर्बभन्दा माथिको शेयर कारोबार भयो । गत साताको अन्तिम दिन शेयर बजार १७९८.८३ अंकमा पुगेर बन्द भएको आधारबाट हेर्दा यो साता  नेप्से परिसूचक ७९.१० अंकले बढेको छ । 

यति बेला बैंक तथा वित्तीय संस्थाहरु गत आर्थिक वर्षको प्रगती विवरण पस्कने क्रममा छन् । साथै, पुँजीवृद्धिका लागि राष्ट्र बैंकले तोकेको समयावधि पनि नजिकिँदै गर्दा पुँजी वृद्धिका लागि हकप्रद र बोनस शेयर निष्काशन, मर्जर तथा एक्जिविसन लगायतको प्रक्रियालाई तीब्र रुपमा अघि बढाइरहेका छन् । यी सबै कुराहरुले शेयर बजारलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । गत वर्षको प्रगती विवरण र चालू वर्षको योजना सार्वजनिक गरिरहँदा र पुँजी वृद्धिका कारण बैंकहरु सबल भइरहँदा बैंकहरुप्रति लगानीकर्ताको आकर्षण बढिरहेको छ । त्यस्तै, मौद्रिक नीतिमा लघुवित्तको पुँजी वृद्धिसम्बन्धि नीति आउने आशामा रहेका लगानीकर्ताहरु उदाशीन देखिएका छन् । लघुवित्तमा यो साता लगानीकर्ताको आकर्षण मात्रै घटेन, लघुवित्तमा लगानी गर्ने शेयधनीले ठूलो मात्रामा गुमाए पनि । साताको अन्तिम दिन भने केही लघुवित्तको शेयर मूल्य बढेको पाइयो । त्यस्तै, साताभर विकास बैंक र फाइनान्स कम्पनीमा लगानी गर्नेहरुले धेरै कमाए । बीमा सम्बन्धि पनि नयाँनयाँ नीतिहरु आउने क्रममा रहँदा राम्रै कारोबार भइरहेको छ । जलविद्युत् समूहमा भने लगानीकर्ताको आकर्षण घट्दै गएको पाइएको छ ।