September 29th, 2020

नोटको जतन किन र कसरी गर्ने

बैंकिङ खबर । हाम्रो कामको आर्थिक आम्दानी भनेको नै मुद्रा हो । नेपाल सरकारले वा नेपाल राष्ट्र बैंकले निष्काशन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४ को दफा २ मा उल्लेख गरेको छ । सबैले मुद्राको प्रयोग हिफाजतका साथ गर्नुपर्छ । अझ कागजी नोटलाई त बढी हिफाजतका साथ प्रयोग गर्न सकेनौं भने त्यसको आयु चाँडै नै घट्छ । नोटलाई जथाभावी प्रयोग गर्दा च्यातिने, मैलो हुने, नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि नचिनिने भई झुत्रो हुने गर्छ ।

नोटमा लेख्ने, केरमेट गर्ने, जथाभावी दोबार्ने, नोटको प्याकेटमा स्टिच लगाउने गर्नाले पनि नोट फोहोर हुने र च्यातिने सम्भावना हुन्छ । प्रायःजसो बैंक तथा वित्तीय संस्थाले नोटको प्याकेटमा स्टिच लगाउने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकले २०७१ जेठ २३ गते जारी गरेको परिपत्रले एउटा मात्र स्टिच गर्न पाउने निर्देशन दिएको थियो । पछि राष्ट्र बैंकले नोटको प्याकेटमा स्टिच नगर्न २०७३ वैशाख १२ गते अर्को परिपत्र जारी गरेको थियो । यस्तै २०७७ साल जेठमा पनि नयाँ परीपत्र जारी गरेको थियो । नोटमा केरमेट नगर्ने र जथाभावी च्यात्ने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो संस्थामा प्राप्त हुने नोटहरूलाई चलनचल्तीमा पठाउन योग्य वा अयोग्य छुट्ट्याउनुपर्ने र योग्य नोटको प्याकेटमा अनिवार्य रूपमा बैंकको नाम, नोट गन्ती गर्ने कर्मचारीको नाम, सही र छापसहित सेतो रङको स्लिप मात्र प्रयोग गर्नुपर्ने तथा अयोग्य नोटको प्याकेटमा पनि सोही बेहोरा उल्लेख गरी रातो रङको स्लिप मात्र प्रयोग गर्नुपर्ने व्यवस्था रहेको छ ।

सफा र गुणस्तरयुक्त नोट प्रयोग गर्न पाउनु सबैको अधिकार हो । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा बैंक नोटमा अबदेखि स्टिच नगर्न, केरमेट नगर्न, जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको थियो । नोट सभ्यताको प्रतीक पनि हो । नोटले विश्वमा राष्ट्रको पहिचान कायम गर्न मद्दत गरेको हुन्छ । नेपाली नोट नेपालको पहिचान पनि भएको हुँदा सबैले सुरक्षित साथ सफा नोट प्रयोग गर्नेतर्फ अग्रसर हुनुपर्छ ।

राष्ट्र बैंकले च्यातिएको, मेटिएको वा झुत्रिएको नोट पुनः निष्कासन गर्दैन । सभ्य नागरिकले नोटलाई झुत्रोमैलो बनाई, च्याती यसको आयु घटाई राष्ट्रलाई आर्थिक व्यय भार पुर्याउने कार्य गर्नु शोभनीय हुँदैन । त्यसैले, विभिन्न सङ्घ, संस्था, व्यक्ति विशेषले नोटको हिफाजत गरी सुरक्षित तरीकाले प्रयोग गर्न सिक्ने र सिकाउनेतर्फ सबै अग्रसर हुनुपर्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]