राष्ट्र बैंकको कदम र नेपाली अर्थतन्त्रमा देखिएका सकारात्मक सुचकहरु

कोभिड – १९ विपत्तिका कारण विश्व अर्थतन्त्र निकै नाजुक अबस्थातिर धकेलीएको छ । जसको प्रभावबाट नेपाली अर्थतन्त्र अछुतो रहन सक्दैन । नेपाली अर्थतन्त्रमा यसले पार्ने प्रभाव विभिन्न किसिमका रहँदा रहँदै पनि यहाँको अर्थतन्त्रमा केही सकारात्मक सुचकहरु देखा परेको छ । प्रस्तुत छ असहज अबस्थाका बाबजुत अर्थतन्त्रमा देखिएका सकारात्मक संकेतहरुबारे वित्तीय विज्ञ नरबहादुर थापाको बीचार

रेमिट्यान्समा आशा बाँकी छ   
कोभिडले अर्थतन्त्रमा पारेको प्रभावलाई रेमिट्यान्सको पाटोबाट हेर्ने हो भने त्यति धेरै निराश हुनुपर्ने अबस्था देखिँदैन । यो एउटा सकारात्मक पक्ष हो । विदेशबाट आउने जुन रेमिट्यान्स छ त्यो अहिले थोरै मात्रामा घटेको अबस्था छ । नेपालमा कुल घर परिवारमध्ये ५६ प्रतिशत घर परिवार रेमिट्यान्ससँग जोडिएको देखिन्छ । चैत महिनादेखि नेपालमा लकडाउन सुरु भयो, तथापि विश्वमा कोभिड महामारी गत वर्षको मङ्सिरदेखिनै सुरु भएको थियो । यस माहामारीले नेपालीहरुमाझ गरिबी, अनिकाल, भोकमरी जस्ता ठुला समस्या आउनसक्ने जुन स्थिति थियो त्यसलाई रेमिट्यान्सले अलिकति भएपनि टेको लगाएर धान्ने काम गरेको छ । सरकारको राजश्व असुुलीमा पनि रेमिट्यान्सले निकै सपोर्ट गरेको छ । रेमिट्यान्स बलीयो माध्यम नभएको भए यो स्थितिमा नेपालमा धेरै चुनौतीहरु देखा पर्दथे । यसअर्थ रेमिट्यान्सको पक्षलाई हेर्ने हो भने त्यति धेरै निराश हुनुपर्ने देखिँदैन ।

सकारात्मक सुचकहरु
कोभिड र अर्थतन्त्रको सवालमा एउटा विचित्र किसिमको स्थिति देखा परेको छ । यस्तो स्थितिमा पनि नेपालको शोधनान्तर २८२ अरबले बचतमा रहेको देखिन्छ । नेपाल राष्ट्र बैंकसँग सरकारको नगद मौज्दात १४१ अरब रहेको र विदेशी विनिमय संचिती १४ खरब नेपाली रुपैयाँ पुगेको हुँदा यसले १४ महिनासम्म देशको व्यय धान्न सक्ने क्षमता देखाउँछ भने वस्तु तथा सेवामा १३ महिना धान्न सक्ने क्षमता देखाउँछ । यी सुचकहरुले नेपालको अर्थतन्त्र नराम्रो देखाउँदैन । पुँजी बजारको अवस्था पनि राम्रो देखिएको छ । सेयरको मुल्य पनि बढेको छ । शोधनान्तर बचतमा रहनु, विदेशी विनिमय संचिती राम्रो हुनु, पुँजीबजार राम्रो रहनु, सेयरको मुल्य बढ्नु यी सुचकहरु भनेको जुन जनसँख्या यो क्षेत्रसँग जोडिएको छ उनीहरुको अवस्थाराम्रो देखाउनु हो । केहीदिन अगाडि फोब्र्सले विश्व धनाड्यहरुको सुची निकालेकोमा धनाड्यहरुको सम्पतीमा अरबौले वृद्धि भएको देखिन्छ । एकातिर माहामारीले विश्व आक्रान्त बन्नु र अर्कातिर सेयरको मुल्य बढ्नु एवं धनाड्य सुचीमा रहेकाहरुको सम्पतिमा अप्रत्यसित वृद्धि हुनुले अचम्मको संकेत गरेको छ । तर पनि दैनिक ज्यालादारीमा काम गर्ने मानिसहरुको रोजगारी गुम्ने, विदेशमा जान नपाउने जस्ता सवालले के देखाउँछ भने तल्लो तहको बर्ग र विपन्न बर्गमा कोभिडले निकै ठुलो आर्थिक संकट ल्याएको छ ।

राष्ट्र बैंकले चालेको कदमबाट ठुलो राहत
अहिलेको अबस्थामा नेपाल राष्ट्र बैंकले राम्रो पहलकदमी गरेको देखिन्छ । राष्ट्र बैंकले ऋण तिर्ने भाका सारिदिनाले तत्कालै बैंकलाई र ऋणीहरुलाई राहत मिलेको छ । यसो नगरेको भए जुन किसिमका हाम्रा बैंकिङ्ग विधि विधान छन् त्यसले ऋणी र बैंक दुबैलाई अप्ठ्यारोमा पार्न सक्दथ्यो । ऋण तिर्न नसक्ने ऋणीहरु कालोसुचीमा पर्दथे । कालोसुचीका कारण ठुलो मनोवैज्ञनिक असर पर्ने, छोरा छोरी विदेश पढ्न जान नपाउने, राज्यले दिने विविध सुविधाबाट बञ्चित हुनुपर्ने भएकोले राष्ट्र बैंकले ऋण तिर्ने समय थप गरिदिँदा उद्योगी व्यावसायीहरुले यसबाट राहात महसुस गरेको अबस्था छ । राष्ट्र बैंकले यो व्यवस्था नगरिदिएको भए बैंकहरुको कर्जा नोक्सानी पनि बढ्दथ्यो । जसले गर्दा बैंकहरुले प्रत्येक महिना सार्वजानिक गर्ने वासलातमा असर देखा पर्दे जान्थ्यो । उक्त असरले आम सर्वसाधारणको बैंकप्रतिको विश्वास पनि गुम्ने खतरा रहन्थ्यो । राष्ट्र बैंकको यो कदमले बैंकहरुलाई पनि ठुलो संकट आउनबाट जोगाएको छ । अहिलेको यो विषम परिस्थितिमा अन्य देशले गरेको असल अभ्यास राष्ट्र बैंकले अवलम्बन गरेका कारण बैंक तथा ऋणीहरु दुबै पक्षलाई सजिलो देखियो र यो सहजताले देशको सिंगो अर्थतन्त्रलाईनै सहजिकरण गराएको देखिन्छ । यहाँनिर राष्ट्र बैंकले पुर्नरकर्जाको कोष खडा गरेको छ, जुन कोषमा ३८ अरब रुपैयाँ रहेकोमा यसको ५ गुणासम्म पुर्नरकर्जा दिनसक्ने घोषणा गर्नुले अर्को राहत प्रदान गरेको देखिन्छ । जस अनुसार वाणिज्य बैंकहरुलाई ७० प्रतिशत, लघुवित्त लगायतका वित्तीय संस्थाहरुलाई १० प्रतिशत दिने व्यवस्था गरिएको छ । यी २ कारणले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई हर्षबढाईका साथमा लिइएको छ । निजी क्षेत्र लगायत यहाँको बजारले जे जे भन्यो राष्ट्र बैंकले त्यसलाई शौहार्दपुर्ण रुपमा स्वीकार गर्नु एवं अन्य देशले गरेको राम्रो कामलाई आत्मसाथ गर्नुले राष्ट्र बैंकले बजारलाई सम्बोधन गरेर बजारसँगै अगाडि बढ्न खोजेको देखिन्छ । राष्ट्र बैंकको यो नीतिले हालको अबस्थामा अर्थतन्त्रलाई डामाडोल हुनबाट जोगाउने काम गरेको देखिन्छ, यो नै अहिलेको सकारात्मक पक्ष हो । बैंकिङ खबरसँगको कुराकानीमा आधारीत 


सोसिअल मेडिया