२०७३ श्रावण १२ गते

होटल समूहले बढायो बुधबारको शेयर बजार : फाइनान्सका लगानीकर्ताले कमाए

economicसाताको बुधबार नेपाल स्टक एक्सचेन्जमा सवा २ अर्बको कारोबार भएको छ । ४ घण्टाको कारोबार अवधिभरमा १ सय ४८ वटा कम्पनीको ४३ लाख ८८ हजार ७ सय ९८ कित्ता शेयर १० हजार ७ सय ९३ पटक खरिदविक्रि हुँदा कुल २ अर्ब २६ करोड ६४ लाख ९४ हजार १ सय ६२ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम मंगलबारको तुलनामा घटेको हो । मंगलबार २ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । 

बुधबार पनि लगानीकर्ता वाणिज्य बैंकमै तानिएका छन् । कुल कारोबारमध्ये नेपाल बैंकको १० करोड, सिद्धार्थ बैंकको ९ करोड ८० लाख, एनबी बैंकको ९ करोड ३९ लाख र प्राइम कमर्सियल बैंकको ८ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सेन्चुरी कमर्सियm बैंकको पौने ७ करोड माथि र एभरेष्ट बैंकको झन्डै सवा ६ करोड रुपैयाँको शेयर कारोबार भएकोा छ । त्यस्तै, एसबीआई बैंक, नेशनल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, माछापूछ्रे बैंक लगायतको साढे ५ करोडभन्दा माथिको कारोबार भएको छ । बैंकहरुले गत आर्थिक वर्षको प्रगती विवरण र आगामी योजनाहरु सार्वजनिक गरिरहेका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको नीतिका कारण बैंकहरु सबल पनि बन्दै गइरहेका छन् । यसै कारण वाणिज्य बैंकप्रति लगानीकर्ताको आकर्षण बढिरहेको विश्लेषकहरु बताउँछन् । 

यता, फाइनान्स र विकास बैंकका लगानीकर्ताले पछिल्लो समय धेरै कमाइरहेका छन् भने लघुवित्त कम्पनीका लगानीकर्ताले गुमाइरहेका छन् । बुधबार भने फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन् भने विकास बैंकका शेयरधनीले गुमाएका छन् । लुम्बिनी फाइनान्सका लगानीकर्ताले बुधबार १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । माउन्ट मकालु डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, तारागाउँ रिजेन्सी, सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स, युनाइटेड फाइनान्स र सोल्टी होटलका लगानीकर्ताले क्रमशः ९.९९, ९.९४, ९.९३, ९.९१, ९.८९, ९.८७, ९.८५ र ९.७७ प्रतिशतका दरले कमाएका छन् । सेती फाइनान्सका लगानीकर्ताले ८.०८ प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्तका प्रोमोटर शेयरधनीले साढे ९ प्रतिशतले गुमाएका छन् । नेपाल इन्स्योरेन्स, एनअनईडीसी क्यापिटल, राप्ती भेरी विकास बैंक, रिलायबल डेभलपमेन्ट बैंक, देव विकास बैंक, भार्गव विकास बैंक लगायतले पनि गुमाएका छन् ।

कारोबार रकम घटेपनि शेयर बजार भने बढेको छ । बुधबार नेप्से परिसूचक १४.९५ अंकले बढ्दै १८८१.४५ अंकमा कायम भएको छ । समूहगत आधारमा हेर्दा बीमा, उत्पादनमूलक र अन्य क्रमशः २३.११, १३.१४ र ७.२२ अंकले घटेका छन् । वाणिज्य बैंक, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः १५.५१, १९५.३७, ३३.१८, ४५.३१ र ५.२१ अंकले बढेका छन् ।