मंगलबार नेपाल स्टक एक्सचेन्जमा पौने ३ अर्बको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४३ वटा कम्पनीको ५८ लाख ६३ हजार ५ सय ४० कित्ता शेयर ११ हजार ६ सय ७३ पटक खरिदविक्रि हुँदा कुल २ अर्ब ७२ करोड ७८ लाख ८४ हजार ३ सय ३८ रुपैयाँको कारोबार भएको हो । कारोबार रकम सोमबारको तुलनामा धेरै बढेको हो । सोमबार २ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
साताको सोमबारदेखि ब्रोकरको कमिशन दर घटेसँगै शेयरमा लगानी गर्नेहरु उत्साहित बनिरहेका छन् भने मौद्रिक नीति जारी भएदेखि लगानीकर्ताको चाप वाणिज्य बैंकहरुमा बढि देखिएको छ । मंगलबार पनि कारोबार रकमका आधारमा सिद्धार्थ बैंक नै अगाडी रहेको छ जसको २५ करोड रुपैयाँभन्दा माथिको शेयर कारोबार भएको छ । एनबी बैंकको १३ करोड ४५ लाख, नेपाल बैंक ९ करोड ८४ लाख र प्राइम कमर्सियल बैंकको ९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार हुँदा सेन्चुरी कमर्सियल बैंकको साढे ८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । एनएमबी बैंक र नेशनल लाइफ इन्स्योरेन्सको ७ सवा ७ करोडको कारोबार भएको छ भने माछापूछ्रे बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक लगायतको ६ करोड माथिको शेयर कारोबार भएको छ ।
एनएमबी माइक्रोफाइनान्स, मुक्तिनाथ विकास बैंक र गुह्येश्वरी मर्चेन्ट बैंकरका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा आईसीएफसी फाइनान्स, कालिका माइक्रोक्रेडिट र जेविल्स फाइनान्सका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, साझा विकास बैंक, माउण्ट मकालु डेभलपमेन्ट बैंक लगायतले पनि ९ प्रतिशतभन्दा बढीका दरले सम्पत्ति बढाएका छन् । बोटलर्स नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । ग्रामीण विकास बैंक, सुर्या लाइफ इन्स्योरेन्स लगायतले पनि गुमाएका छन् ।
कारोबार रकमसँगै बजार पनि बढेको छ । मंगलबार नेप्से परिसूचक २८.८६ अंकले बढेर १८६७.३५ अंकमा कायम भएको छ । मंगलबार उत्पादनमूलक बाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै विकास बैंक ७३.२२ अंले बढेको छ । वाणिज्य बैंक, होटल, जलविद्युत्, फाइनान्स, बीमा र अज्य क्रमशः २८.६९, ३५.१६, २५.८९, २२.३२, ३४.०८ र ४.९१ अंकले बढेका छन् । उत्पादनमूलक भने ६४.३८ अंकले घटेको छ ।