साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा सवा २ अर्बको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४७ वटा कम्पनीको ४७ लाख ४० हजार २ सय ७२ कित्ता शेयर १० हजार १ सय ४० पटक खरिदविक्रि हुँदा कुल २ अर्ब २३ करोड ९९ लाख ४८ हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ । साताको आइतबार ब्रोकरको नयाँ कमिशन दर लागू गर्न सम्भव नभएपछि शेयर कारोबार नै स्थगित गरिएको थियो । सोमबारदेखि भने नयाँ कमिशन दर लागू भएको छ ।
शेयर बजारमा सरकार परिवर्तनले प्रभाव पारेको देखिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारी समक्षा राजीनामा पेश गरेका थिए । उनको राजीनामा स्विकृत पनि भइसकेको छ । अब ओली सरकार अर्को सरकार नबनुन्जेल काम चलाउको रुपमा रहनेछ । सँधै जसो सरकार परिवर्तनको कुराले शेयर बजारमा प्रभाव पार्ने गरेको भएतापनि यस पटक भने लगानीकर्ताले ब्रोकरको कमिशन घटेको खुशियालीमा सरकार परिवर्तनलाई भुलेका छन् । सोमबार नेप्से परिसूचक १८३८.४९ अंकमा पुगेको छ । बजार खुलेदेखि नै बढ्न थालेको बजार ३९.६६ अंकको वृद्धिसँगै बन्द भएको हो ।
कारोबार रकमको आधारमा सोमबार सिद्धार्थ बैंक अग्रस्थानमा रहेको छ । विगत केही दिनदेखि नै लगानीकर्ताको आकर्षण रहेको यस बैंकको १९ करोड ३६ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको १० करोड ६५ लाखमाथिकाने शेयर कारोबार भएको छ । बैंकले १ करोड २३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेकाले यसप्रति लगानीकर्ताको आकर्षण बढेको हो । एनबी बैंकको पनि १० करोडमाथिको कारोबार भएको छ भने एनएमबी बैंक, कृषि विकास बैंक, माछापूछ्रे बैंक, प्रिमियर इन्स्योरेन्स र सेन्चुरी कमर्सियm बैंकको ६ करोडमाथिको शेयर कारोबार भएको छ । सेन्चरी बैंकको पनि ८५ लाख कित्ता हकप्रद शेयर आउँदै छ । त्यस्तै, शिखर इन्स्योरेन्स, नेपाल बैंक लगायतको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।
देव विकास बैंक, नागवेली लघुवित्त र सेती फाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा मितेरी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स र सेवा विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९९, ९४, ९.९३ र ९.९२ प्रतिशतका दरले कमाएका छन् । कैलाश विकास बैंक, युनिक फाइनान्स र सांग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् । गुमाउनेमा किसान माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, कालिका माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स लगायत छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लघुवित्तको स्प्रेड रेट बढाएदेखि लघुवित्त बैंकहरुको शेयरमूल्य लगातार घटिरहेको छ ।
सोमबार जलविद्युत् बाहेक सबै समूहका शेयर सूचक बढेका छन् । वाणिज्य बैंक, होटल, विकास बैंक, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य क्रमशः ४२.०९, ४३.०३, ८१.८५, २०.९९, ८३.९२, ३.२१ र ८.९७ अंकले बढेका छन् । जलविद्युत् भने १२.२ अंकले घटेको छ ।




