साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा झन्डै डेढ अर्बको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ४१ वटा कम्पनीको ३१ लाख ५२ हजार ६ सय ७२ कित्ता शेयर ५ हजार ७ सय २० पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ४८ करोड ६१ लाख ९५ हजार ६ सय ५३ रुपैयाँको कारोबार भएको हो । कारोबार रकम बुधबारको तुलनामा घटेको हो । बुधबार २ अर्ब १२ करोडको कारोबार भएको थियो ।
मौद्रिक नीति सार्वजनिक भएपछिका दिनहरुमा बजार घट्नेबढ्ने भइरहेपनि लगानीकर्ताको आकर्षण भने वाणिज्य बैंकमै रहेको छ । सोही अनुरुप विहिबार पनि धेरै कारोबार हुने कम्पनीहरुको अग्रस्थानमा सिद्धार्थ बैंक नै रहेको छ, जसको झन्डै १३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ७ करोड, माछापूछ्रे बैंकको ६ करोड ९६ लाख र शिखर इन्स्योरेन्सको ५ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, एनबी बैंक, कृषि विकास बैंक र सनराइज बैंकको ४ करोडमाथिको शेयर कारोबार भएको छ भने एनआईसी एसिया बैंकको ३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले सम्पत्ति बढाउँदा राप्तीभेरी विकास बैंक, किसान माइक्रोफाइनान्स, कम्युनिटी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक र कन्काइ विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९७, ९.९६, ९.९४, ९.९३, ९.८३ र ९.६० प्रतिशतका दरले कमाएका छन् । रिलायबल माइक्रोफाइनान्स, सगरमाथा फाइनान्स, सिनर्जी फाइनान्सको लगायतले पनि धेरै कमाएका छन् ।
मौद्रिक नीति जारी भएपछिका दिनमा लगातार गुमाइरहेका माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले विहिबार पनि धेरै गुमाएका छन् । कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् भने समिट माएक्रोफाइनान्स र नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले क्रमशः ९.९८ र ९.९४ प्रतिशतले गुमाएका छन् । त्यस्तै, एनएमबी माइक्रोफाइनान्स, एभरेष्ट बैंक (सीपी), सेती फाइनान्स, रिडी हाइड्रोपावर लगायतले पनि गुमाएका छन् ।
कारोबार रकममा भारी गिरावट आएको दिन बजार भने पुनः १८ सय नजिक फर्केको छ । विहीबार नेप्से परिसूचक ११.९९ अंकले बढेर १७९८.८३ अंकमा पुगेको छ । विहिबारको बजार बीमा र उत्पादनमूलक समूहले बढाएका छन्, जसको शेयर सूचक क्रमशः १२५.५६ र ६९.०८ अंकले बढेका छन् । वाणिज्य बैंक, होटल, विकास बैंक, फाइनान्स र अन्य पनि क्रमशः ५.८, ११.७९, २१.८७, ५.८३ र ५.७८ अंकले बढेका छन् । जलविद्युत् भने ९.९ अंकले ओर्लिएको छ ।




