July 1st, 2020

बैंकिङ कर्मचारीले बोनस पनि नपाउने, तलव पनि नबढ्ने

बैंकिङ खबर । कोरोना महामारीका कारण असहज बनेको आर्थिक अबस्थाले गर्दा बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीले बोनस नपाउने भएका छन् । त्यससँगै हरेक आर्थिक बर्षमा राम्रै रुपमा बृद्धि हुँदै आएको तलव स्केल पनि यस आर्थिक बर्षमा नबढ्ने भएको छ । बैंकिङ क्षेत्रका कर्मचारीको तलव र अन्य सुविधा बढ्ने अबस्थामा नरहेको जनाइएको छ । बैंकहरु कर्मचारी कटौतीको तयारीमा रहेका बेला प्रत्यक्ष रुपमा कर्मचारी कटौटी गर्न नेपाल राष्ट्र बैंकले रोक गाएपछि घुमाउरो तरीकाले खर्च कटौतीमा अधिकाँस बैंकहरु लागि परेका छन् । राष्ट्र बैंकले सम्झौता अवधि नसकिएका कर्मचारी नहटाउन भनेपनि करारका कर्मचारीलाई भने बैंकहरुले केही महिनाको तलव दिएरै पनि कटौटी गरीसकेका छन् । कर्मचारी सुविधाका बारे बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा वित्तीय संस्था संघले पनि अलग अलग छलफल गरेका छन् । बैंकर्स संघमा आबद्ध बैंकहरुले कर्मचारीको बढुवा समेत १ वर्ष नगर्ने भएका छन् । त्यसका साथै तलव बढाउने अबस्था पनि नरहेको र बोनस वितरण कार्य पनि नगरिने जनाइएको छ । हालै सरकारले पनि आगामी बजेटमा कर्मचारीको तलव बढाउने निर्णय रोकेको थियो । हरेक आर्थिक बर्षमा सरकारी कर्मचारी, बैंकिङ क्षेत्र तथा नीजि क्षेत्रमा पनि कर्मचारीको तलव बृद्धि हुँदै आएको थियो । कोरोना कहरका कारण अर्थतन्त्र कम्जोर हुँदै गएपछि बैंकहरुले तलव बृद्धि र बोनस वितरण नगर्ने भएका हुन् । नीजि क्षेत्रमा धेरै कर्मचारीले रोजगारी नै गुमाउनुपरेको छ भने व्यबसाय तथा उद्योगहरु कम्जोर हुनुका साथै कतिपय बन्द भएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]