नेपाल राष्ट्र बैंकले गत साता मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजार लगातार रुपमा बढ्दै ऐतिहासिक उचाईमा पुगेको छ । मंगलबार नेप्से परिसूचकले पहिलोपटक १८ सय अंकको विन्दु पार गरेको छ । बजार १३.९० अंकले बढ्दै १८००.७४ अंकमा पुगेको छ ।
मौद्रिक नीति जारी भएयता कारोबार पनि बढ्दो क्रममा रहेको छ । मंगलबार शेयर कारोबारले २ अर्ब नाघेको छ । दिनभरिमा १ सय ३९ वटा कम्पनीको २९ लाख २ हजार १ सय २७ कित्ता शेयर ९ हजार ७ सय ३० पटक खरिदविक्रि हुँदा कुल २ अर्ब १४ करोड ८ लाख ६० हजार ४ सय ८५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार लगानीकर्ताको धेरै आकर्षण माछापूछ्रे बैंकको शेयरमा रह्यो जसको ३० करोड २५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको १० करोड ६३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स, एनबी बैंक, प्राइम लाइफ इन्स्योरेन्स र एनआईसी एसियाको ७ करोडमाथिको शेयर कारोबार हुँदा इन्भेष्टमेन्ट बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनीको ६ करोडमाथिको कारोबार भएको छ भने ग्लोबल आईएमई बैंक, नेशनल लाइफ इन्स्योरेन्स लगायतको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।
सिद्धार्थ बैंकले मंगलबार १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा किसान माइक्रोफाइनान्स र कैलाश विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९८ र ९.८५ प्रतिशतका दरले कमाएका छन् । गण्डकी विकास बैंक, पोखरा फाइनान्स, माछापूछ्रे बैंक, बोटलर्स नेपाल लगायतले पनि धेरै कमाएका छन् । निर्धन उत्थान विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् । मिरमिरे माइक्रोफाइनान्स, जलविद्युत लगानी तथा विकास कम्पनी, आईएलएफसीओ माइक्रोफाइनान्स, सगरमाथा इन्स्योरेन्सले पनि गुमाएका छन् ।
मंगलबारको बजार उत्पादनमूलक, वाणिज्य बैंक, होटल, विकास बैंक र फाइनान्स समूहले बढाएका छन् जसको सूचक क्रमशः ४०.२४, ३५.४८, ३५.३३, १५.७७ र ८.८१ अंकले बढेका छन् । बीमा समूहमा उच्च गिरावट देखिएको छ, जसको शेयर सूचक २४०.१९ अंकले घटेको छ । त्यस्तै, जलविद्युत् र अन्य समूह क्रमशः ९.९३ र १७.०७ अंकले घटेका छन् ।




