गत आर्थिक वर्षको ११ महिनामा नेपालमा ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ८.६ प्रतिशत बढी रेमिट्यान्स भित्रिएको हो । रेमिट्यान्स रकम अघिल्लो वर्षको तुलनामा बढेपछि रेमिट्यान्स आप्रवाह वृद्धिदर भने घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.४ प्रतिशतले वृद्धि भएको थियो ।
विप्रेषण आप्रवाहमा भएको वृद्धिका कारण खुद ट्रान्सफर आय अघिल्लो वर्षकोभन्दा १०.१ प्रतिशतले बढेको छ । जसअनुसार, खुद ट्रान्सफर आय ६ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १०.४ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीमा जाने घट्दै
पछिल्लो समयमा वैदेशि राजेगारीमा जानेको संख्या भने घट्दो क्रममा रहेको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या आर्थिक वर्ष २०७२/७३ को एघार महिनामा गत वर्षको सोही अवधिको तुलनामा २०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ४.२ प्रतिशतले बढेको थियो । वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्याले रेमिट्यान्समा प्रत्यक्ष असर पार्ने हुन्छ । त्यसैले रेमिट्यान्स वृद्धिदर पनि क्रमशः घट्दै गइरहेको छ । नेपाललाई रेमिट्यान्सले धानेको अर्थतन्त्र भएको मुलुक भनिरहँदा यसरी रेमिट्यान्सको वृद्धिदरका आएको गिरावटप्रति समयमै विचार पुर्याउनुपर्ने देखिन्छ ।




