२०७३ श्रावण ४ गते

शेयर बजारमा थपिए १ सय ९५ करोड बराबरका शेयर

economicगत आर्थिक वर्ष २०७२/०७३ को पहिलो ११ महिनामा नेपाल स्टक एक्सचेन्जमा कुल ३० अर्ब ८ करोड रूपैयाँको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, नेप्सेमा डिम्याट सेयर कारोबार सुरू गरेपछि बजारले विस्तारित रुप लिएको छ । बजारमा नयाँ लगानीकर्ता थपिएका छन्, कारोबार बढ्दैछ भने बजारको आकार पनि दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ ।

गत जेठ मसान्तसम्ममा नेप्सेमा सूचीकृत कम्पनीको चुक्ता पुँजी ३ खर्ब ८ अर्ब ४२ करोड रूपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । सो अवधिसम्ममा २६ अर्ब ७९ करोड रूपैयाँका सेयर नेप्सेमा सूचीकृत भएका छन् । ११ महिनामा पुँजी बजारमा १ अर्ब ९५ करोड रूपैयाँको साधारण सेयर थपिएको छ । यो अवधिमा विशेयागरी माइक्रोफाइनान्स र जलविद्युत कम्पनीले साधारण सेयर निष्कासन गरे । त्यस्तै, सो अवधिमा ३ अर्ब ६२ करोड रूपैयाँको हकप्रद सेयर निष्काशन भएको छ । राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमार्फत बैंकको चुक्ता पुँजी बढाउनुपर्ने व्यवस्था गरेपछि विशेषतः बैंक तथा फाइनान्स कम्पनीहरुले हकप्रद निष्काशनलाई प्राथमिकतामा राखेका छन् । त्यस्तै, लगानीकर्ताले सूचीकृत कम्पनीबाट आकर्षकरूपमा बोनस सेयर पनि पाएका छन् । समग्रमा सूचीकृत कम्पनीले १९ अर्ब ५२ करोड रूपैयाँको बोनस सेयर वितरण गरेका छन् । यस अवधिमा एक अर्ब ७० करोड रूपैयाँ बराबरको डिबेन्चरसमेत दास्रो बजारमा थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।