साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा सवा अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबार समयावधि बढेको दिन १ सय ३६ वटा कम्पनीको २२ लाख ६९ हजार ४ सय ९५ कित्ता शेयर ७ हजार ८१ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ३५ करोड ९८ लाख ३५ हजार ८ सय १९ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, ४ घण्टाको कारोबार अवधिमा नेप्से परिसूचक पनि २७.५९ अंकले बढेर १७४५.७४ अंकमा पुगेको छ ।
आइतबार धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा जलविद्युत् लगानी तथा विकास कम्पनी रहेको छ, जसको झन्डै पौने १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । फस्र्ट माइक्रोफाइनान्सको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार हुँदा नेपाल बैंक र इन्भेष्टमेन्ट बैंकको सवा ५ करोडको कारोबार भएको छ । त्यस्तै, एनबी बैंकको झन्डै ५ करोडको शेयर कारोबार हुँदा सनराइज बैंकको साढे ४ करोडमाथिको कारोबार भएको छ भने सिटिजन बैंक, मेगा बैंक, कृषि विकास बैंक लगायतको ३ करोड ८० लाखमाथिको कारोबार भएको छ ।
कमाउने कम्पनीहरुको अग्रस्थानमा भने माछापूछ्रे बैंक रहेको छ जसका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । बोटलर्स नेपाल र किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा तिनउ डेभलपमेन्ट बैंक र जलविद्युत विकास कम्पनीले क्रमशः ९.९७, ९.९३ प्रतिशतका दरले कमाएका छन् भने जनउत्थान सामुदायिक लघुवित्त, सिद्धार्थ बैंक र कृषि विकास बैंकका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् । कैलाश विकास बैंकका लगानीकर्ताले ९.३९ प्रतिशतका दरले सम्पत्ति बढाउँदा जनता बैंकका लगानीकर्ताले ८.४४ प्रतिशतका दरले कमाएका छन् । मौद्रिक नीतिमा लघुवित्त कम्पनीको स्प्रेडदर तोकेका कारण लघुवित्त कम्पनीमा आकर्षण घटेको हो ।
जति धेरै कम्पनीहरुले कमाए त्योभन्दा बढी कम्पनीका लगानीकर्ताले आइतबार धेरै गुमाएका छन् । जसमध्ये धेरै संख्यामा लघुवित्त विकास बैंक रहेका छन् । १० प्रतिशतका दरले गुमाउने कम्पनीहरुमा स्वाबलम्बन विकास बैंक, मिथिला लघुवित्त, छिमेक लघुवित्त, नागवेली लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, डिप्रोस्क डेभलपमेन्ट बैंक र ओमी माइक्रोफाइनान्स रहेका छन् । आइएलएफसीओ माइक्रोफाइनान्स, साना किसान विकास बैंक, रुरल माएक्रोफाइनान्स र विजय लघुवित्तका लगानीकर्ताले क्रमशः ९.९८, ९.९६, ९.९४ र ९.४८ प्रतिशतका दरले गुमाएका छन् ।
समूहगत आधारमा हेर्दा वाणिज्य बैंक समूह सबैभन्दा धेरै ४९.९७ अंकले बढ्दा उत्पादनमूलक ४०.४४, अन्य २४.८६ र फाइनान्स ५.९२ अंकले बढेका छन् । होटल, विकास बैंक, जलविद्युत् र बीमा क्रमशः ९.१४, ३१.९८, २५.४ र ४८.१८ अंकले घटेका छन् ।




