बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कृषि व्यवसाय, लघु, साना तथा मझौला उद्योग लगायतका क्षेत्रमा प्रादेशिक सन्तुलन समेत कायम हुनेगरी सहज रुपमा पुनरकर्जा सुविधा उपलव्ध हुने व्यवस्था मिलाइने जनाएको छ । मंगलबार मौद्रिक नीतिको तेस्रो त्रैमास रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो ।
नेपाल राष्ट्र बैंकले २०७७ असार मसान्तसम्म निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर ४.४ प्रतिशतभित्र ल्याईसक्नुपर्ने व्यवस्थालाई थप प्रभावकारी बनाउने बताएको छ । राष्ट्र बैंकले कोभिड—१९ महामारीले पार्न सक्ने थप प्रभावलाई समेत ध्यानमा राखी अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटसँग सामञ्जस्यता कायम हुने गरी वार्षिक मौद्रिक नीति तर्जुमा गरिने उल्लेख गरेको छ । त्यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत निक्षेपकर्ताका लागि तोक्ने ब्याजदरलाई थप व्यवस्थित बनाइने उल्लेख गरेको छ । साथै बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात, बैंकदर र वैधानिक तरलता अनुपातलाई यथावत कायम गरिएको मौद्रिक समिक्षा रिपोर्टमा उल्लेख गरेको छ ।
