May 18th, 2020

‘व्याज तिर्न नसकेर उद्योगीले आत्महत्या गर्ने अबस्था नआओस्’

बैंकिङ खबर । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बैंकको व्याज तिर्न नसक्ने अबस्था आएपछि उद्योगीले आत्महत्या गर्ने हो ? भनेर प्रश्न गरेकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उनले बैंकको व्याज तिर्न नकस्ने अबस्थामा रहेका उद्योगीहरु आत्महत्या गर्ने सम्मको अवस्थामा पुग्ने बताईन् । उनले आफूहरुले अघि सारेका मागहरुलाई सम्बोधन गर्न पनि सरकारसँग माग गरिन् ।

नेपाल उद्योग वाणिज्य महासंघले कम्तिमा ३ बर्षका लागि बैंकिङ कर्जाको व्याज पाँच प्रतिशतले घटाउन माग गरेको छ । महासंघले बजेटमा सुझाव दिने क्रममा यस्तो माग गरेको हो । महासंघले दुई प्रतिशत सम्बन्धित बैंकले र ३ प्रतिशत पुनकर्जा कोषले व्यहोर्नेगरी पाँच प्रतिशत व्याज घटाउन अनुरोध गरेको हो । उद्योग तथा प्रतिष्ठानलाई कर्मचारी तलव खर्चका लागि पाँच प्रतिशत व्याजमा पुनकर्जा कोष परिचालन गरी २ बर्षे किस्ताबन्दीको व्यबस्था गर्नुपर्ने सुझाव पनि महासंघले दिएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण अस्त व्यस्त भएको अर्थतन्त्र संहाल्न कठिन भएको भन्दै महासंघले सरकारसँग राखिएका मागहरु पुरा नभए सबै उद्योगहरु बन्दगर्नुको विकल्प नभएको उल्लेख गरेको छ । महासंघले भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरी लकडाउनका कारण उद्योग, व्यापार, सेवा क्षेत्र ठप्प रहेको जनाएको छ । उद्योग, व्यापार तथा सेवा क्षेत्रलाई पुनरूत्थान गर्न आफूले अघि सारेका मागहरु सुनुवाई गर्न सरकारसमक्ष आग्रह गरेको हो । महासंघले अति आवश्यक वस्तुका उद्योग, व्यापार तथा व्यवसायमा समेत कच्चा पदार्थको अभाव, कामदार कर्मचारीहरूको अभाव र बजारको समस्याका कारण न्यून क्षमतामा मात्र संचालन भएको बताएको छ । महासंघका अध्यक्ष भवानी राणाले उद्योग व्यवसायहरूमा अतिरिक्त पुँजी प्रवाह गर्ने, रिपेमेन्टलाई व्यवस्थित रूपले ३ देखि ५ वर्ष अवधि बढ्ने अबस्था रहेको बताईन् । उनले ऋणको लागत घटेर आर्थिक क्षेत्रमा थप समस्या सिर्जना भएको उल्लेख गर्दै उद्योग, व्यापार, व्यवसाय तथा अर्थ व्यवस्थालाई टाट पल्टिनबाट जोगाउन नीजि क्षेत्रका मागहरु सम्बोधन गर्न अनुरोध गरिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]