बैंकिङ खबर । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सूर्योदय लघुवित्त वित्तीय संस्थाले तीन करोड २९ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सूयौदयले दुई करोड ६५ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
२१ कराड ५० लाख ४२ हजार रुपैयाँ चुक्तापुँजी रहेको लघुवित्तको जगेडाकोषमा १२ करोड ४३ लाख ३८ हजार रुपैयाँ रहेको छ । लघुवित्तले यो अवधिमा दुई अर्ब ७२ करोड ४७ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी हो । त्यस्तै, निक्षेप संकलन एक अर्ब सात करोड १६ लाख ८७ हजार रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर बढी हो ।
चैत्र मसान्तको तथ्यांकअनुसार सूर्यादयको खराब कर्जा ०.७३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तमा ०.९३ प्रतिशत रहेको यस्तो कर्जा पुस मसान्तमा १.३१ प्रतिशत रहेको थियो ।
त्यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी ३२.३२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५७.८२ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १६५३.१७ रुपैयाँ, तरलता अनुपात १३.९८ र मूल्य आम्दानी अनुपात १६.९९ रहेको छ ।
सूर्योदयले गत फागुन १० गतेदेखि त्रिलोक लघुवित्तलाई गाभेर एकीकृत कारोबार सुरु गरेको छ । त्रिलोकको सो मितिसम्मको नाफा समेत समावेश गरि प्रतिशेयर आम्दानी निकालिएको लघुवित्तले जनाएको छ । मर्जर प्रयोजनका लागि गत असार २२ गतेदेखि लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार भएको छैन ।

