July 14th, 2016

२० रुपैयाँको नयाँ नोटमा शुक्लाफाँटको बाह्रसिंगे

rs 20अब २० रुपैयाँको नोटको रातो पृष्ठभूमिमा रहेको साम्भरको तस्वीर हट्ने भएको छ । अर्थमन्त्रालयको प्रस्तावमा सरकारले २० रुपैयाँको नोटमा बाह्रसिङ्गेको तस्वीर राखि बजारमा ल्याउन लागेको हो । २० रुपैयाँको नोटमा साम्भर जनावरको चित्र वि.स. २०६९ सालदेखि राख्न थालिएको थियो ।

चलनचल्तीमा रहेका नोटहरुमा समय अनुसारका नयाँ विशेषताहरु संलग्न गर्नुपर्ने भएकाले परिमार्जन गर्न लागिएको बताइएको छ । नेपालको शुक्लाफाँटमा पाइने मृग प्रजातिको बाह्रसिंगे हाल लोपोन्मुख अवस्थामा भएकाले यसलाई नोटमा राख्नुलाई राष्ट्रिय गौरवको विषय मानिएको छ ।

त्यस्तै, हाल चल्तीमा रहेको २० रुपैयाँको नोटमा २ वटा व्याकरणीय परिमार्जन पनि गरिनेछ । ‘रुपैयाँ बीस तुरुन्त पाइनेछ’ लाई सच्याएर अब ‘रुपैयाँ बिस तुरुन्त पाइने छ’ बनाउने छ । नेपाल प्रज्ञा प्रतिष्ठानले बीसको सट्टा बिस र ‘पाइनेछ’ को सट्टा पाइने छ लाई मान्यता दिएकाले सोहीअनुरुप परिमार्जन गर्न लागिएको हो ।