पछिल्लो समय ग्रामीण क्षेत्रमा बैंकिङ लगानी बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले ग्रामीण क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई बेलाबेलामा निर्देशन दिने गरेको भएपनि बैंकहरुले ग्रामीण भेगमा गरेको लगानी सुरक्षित नहुने भन्दै सो निर्देशन मानिरहेका थिएनन् । तर, पछिल्लो समय भने ग्रामीण भेगमा लगानी लगानी विस्तार भइरहेको छ ।
यसरी ग्रामीण भेगमा लगानी विस्तार हुनुमा लघुवित्त बैंकहरुको सबैभन्दा ठूलो योगदान रहेको छ । विशेषतः ग्रामीण तथा दुर्गम भेगका वासिन्दा तथा विपन्न वर्गसम्म बैंकिङ पहुँच विस्तार गर्नकै लागि लघुवित्त संस्थाहरु खोलिएका हुन्छन् । लघुवित्त संस्थाले नेपाल राष्ट्र बैंकबाट प्राप्त सहुलियत कर्जा र बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई बिनाधितो ग्रामीण क्षेत्रमा लगानी गर्दछन् । अन्य बैंकहरुले पनि लघुवित्त बैंकमार्फत ग्रामीण भेगमा लगानी गर्ने गरेका छन् । कतिपय वाणिज्य बैंकहरुले आफ्नै लघुवित्त बैंकको स्थापना गरी ग्रामीण भेगमा पुँजी परिचालन गर्ने गरेका छन् । यसले गर्दा ग्रामीण भेगका मानिसहरु लघुवित्त बैंकबाट ऋण लिएर कुनै न कुनै व्यावसायिक उद्यममा लाग्न प्रेरित भएका छन् ।
लघुवित्त संस्थाहरूले सार्वजनिक निक्षेप संकलन गर्न पाउँदैनन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तथा सदस्यहरूबाट जम्मा भएको निक्षेप तथा आफ्नो पुँजीबाट यिनीहरूले कर्जा प्रवाह गर्छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई स्थानीयस्तरमा लगानी गर्ने लघुवित्त संस्थाहरूको कर्जा सापटी मात्रै ५० अर्ब पुगेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ४१ लघुवित्त संस्थाले ४९ अर्ब १२ करोड ३० लाख रुपैयाँ कर्जा सापटी लिएका छन् । लघुवित्त संस्थाहरुले गत आर्थिक वर्षको सोही अवधिको ३६ अर्ब १९ करोड ३८ लाख रुपैयाँको तुलनामा ३५.७२ प्रतिशतले धेरै कर्जा सापटी लिएका हुन् । जसमध्ये, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट ४८ अर्ब २० करोड ८५ लाख रुपैयाँ सापट लिएका छन् भने नेपाल राष्ट्र बैंकबाट ८४ करोड ९५ लाख ११ हजार रुपैयाँ सापट लिएका छन् । यो अवधिमा लघुवित्त संस्थाहरूले प्रवाह गरेको कुल कर्जा ७० अर्ब ५७ करोड ७ लाख रुपैयाँ छ । लघुवित्तले ५० अर्ब कर्जा लिएर ७० अर्ब लगानी गर्न सक्नुले लघुवित्तको पुँजीगत स्थिति बलियो हुँदै गएको संकेत गर्छ ।
नेपाल राष्ट्र बैंकले दिने सापट सहुलियतको हुन्छ । लघुवित्त संस्थाले दुर्गममा शाखा खोेलेमा ३० लाख रुपैयाँसम्म बिनाव्याज प्राप्त गर्ने प्रावधान रहेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट लिएको सापटको व्याज तिर्नुपर्ने हुन्छ । लघुवित्त संस्थाले वाणिज्य बैंकबाट ४ देखि ६ प्रतिशत र विकास बैंकबाट ४ देखि ७ प्रतिशतसम्मको व्याजदरमा यस्तो कर्जा लिने गरेका छन् । यस्ता संस्थाले बैंक तथा वित्तीय संस्थालाई तिर्ने ब्याज र सर्वसाधारणबाट लिने ब्याजको अन्तरबाट नै नाफा कमाउँछन् । हाल लघुवित्तले कर्जामा १८ देखि २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् ।
लघुवित्त बैंकहरुबाट ऋण लिएर उद्यममा लाग्नेको संख्या पनि बढ्न थालेको छ । ग्रामीण भेगमा पशुपालन, व्यावसायिक कृषि तथा घरेलु उद्योगका लागि लघुवित्त बैंकबाट ऋण लिने गरेको पाइन्छ । विशेषतः महिलाहरुले समूहगत रुपमा लघुवित्तबाट ऋण लिने गरेका छन् । लघुवित्त बैंकबाट ऋण लिएर सफल उद्यमी बनेका थुप्रै उदाहरणहरु ग्रामीण भेगमा देख्न पाइन्छ ।



