२०७७ बैशाख १६ गते

कोरोना र लकडाउनका कारण वित्तीय क्षेत्रमा बढ्दो जोखिम

बैंकिङ खबर । बढ्दो कोरोना संक्रमण र लम्बिँदै गएको लक डाउनका कारण बैंक तथा वित्तीय संस्थाहरु प्रभावित हुन थालेका छन् । लक डाउन जति लम्बिँदै गयो वित्तीय क्षेत्रमा जोखिम त्यत्ति नै बढ्दै जान्छ । कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि लागू गरिएको घरमै बस्नुपर्ने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्रमा पारेको प्रभावलाई सूक्ष्म ढङ्गले अध्ययन गरिरहेको राष्ट्र बैकले जनाएको छ । विशेषगरी वित्तीय क्षेत्रमा कर्जा जोखिमको अवस्था आउन सक्ने आँकलन गरिएको छ । प्रशासनिक खर्च जुटाउन मालिकको नाफा कटाउने कि कर्मचारीको बोनस भन्ने विषयमा संचालक र बैंकर्स बीचमा विवाद सुरु भइसकेको छ ।

लक डाउन लम्बिए वित्तीय क्षेत्रमा भयावह अवस्था
लक डाउनमा सुधार भएन भने वित्तीय क्षेत्रमा रहेको सर्वसाधारणको ३४ खर्ब निक्षेप जोखिममा पर्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । लक डाउन मात्रै थपेर आर्थिक गतिविधि बन्द गर्ने हो भने उद्योग व्यवसायहरु बैंकहरुको ऋण र व्याज चुक्ता गर्न नसक्ने अवस्थामा पुग्ने उनको भनाई छ । जनस्वास्थ्यको संकटले दोस्रो चरणमा आर्थिक संकट र तेस्रो चरणमा वित्तीय संकट ल्याउने भएकाले नीतिनिर्माताले बैंक तथा वित्तीय संस्थालाई कसरी बचाउने भन्नेतर्फ ध्यान दिनुपर्ने उनको तर्क छ । 

१/२ महिनाको लक डाउनले फरक नपरे तापनि लक डाउन लम्बियो भने वित्तीय क्षेत्रमा भयावह अवस्था आउन सक्ने बैंकर्सको धारणा छ । होटल व्यवसाय, टुरिजम, यातायात सबै ठप्प भएको हुनाले उनीहरुलाई कर्जाको साँवा व्याज तिर्न धेरै गाह्रो परिरहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवम् गरिमा विकास बैंकका सीईओ गोविन्द प्रसाद ढकालले बताए । लक डाउन लम्बिएको अवस्थामा झन् बढी समस्या हुने उनको धारणा छ ।

लक डाउन पिरियडभरि अफिसहरु चलाउन नपाएका कारण अर्थतन्त्र ठप्प भएको हिसाबले लोन तिर्नुपर्नेहरुलाइ तिर्न गाह्रो हुने र आम्दानीको स्रोत घट्ने हुँदा वित्तीय क्षेत्रमा असर पर्ने वित्तीय संस्था संघका अध्यक्ष समेत रहेका गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधरले बताए ।

सुदुरपश्चिम क्षेत्रमा धेरै प्रभाव
देशको सुदुरपश्चिम क्षेत्रमा धेरै विकट स्थानहरु छन् । जसकारण, वित्तीय क्षेत्रको जोखिम पनि बढी छ । लक डाउनका कारण देशव्यापी रुपमा नै आर्थिक गतिविधिहरु ठप्प छन् । अर्थतन्त्रसँग ल्याउने सम्भावना रहेको नेपाल राष्ट्र बैंक, धनगढीका निर्देशक निश्चल अधिकारीले बताए । सुदुरपश्चिम क्षेत्रमा पर्यटन, होटल, व्यापार व्यासाय तथा कृषि र हाइड्रोमा बैंकिङ लगानी छ । व्यापार, व्यवसायमा ह्रास आएका कारण कर्जा जोखिममा केही समस्या आउन सक्ने कञ्चन डेभलपमेन्ट बैंकका सीईओ विरुराम जैसी बताउँछन् ।

लघुवित्तका ग्राहकलाई व्यापार बचाउन कठिन
लक डाउनका कारण लघुवित्तका विपन्न र ग्रामीण भेगका ग्राहकहरु समस्यामा छन् । लघुवित्तबाट लिएको कर्जाबाट संचालित कृषि व्यवसायका उत्पादनले बजार पाएका छैनन् भने सानातिना व्यापार व्यवसायहरु संचालन गर्न सकिएको छैन । लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्तराज लम्सालले लघुवित्तमा लेण्डिङ र रिपेमेन्टको समस्या बढ्दै जाने बताए । पहिलेदेखि नै लेण्डिङको समस्या रहेको लघुवित्त क्षेत्रमा आगामी दिनमा झन् धेरै समस्या आउने उनले बताए ।  

लघुवित्तमा यसको प्रभाव दीर्घकालीन रुपमा पर्न सक्ने लक्ष्मी लघुवित्तका सीईओ प्रकाशराज शर्मा बताउँछन् । यद्यपि, लघुवित्तमार्फत ग्रामीण अर्थतन्त्रब चलायमान गराइराख्न सक्यो भने भविष्यमा अर्थतन्त्र रिभाइभ गर्न सजिलो हुने उनको धारणा छ ।

उन्नति लघुवित्तका सीईओ प्रेम बहादुर पाठक पनि ग्रामिण तह र विपन्न बर्गसँग जोडिएका कारणले लघुवित्त क्षेत्रमा लक डाउनको धेरै प्रभाव पर्ने बताउँछन् । उनका अनुसार, विपन्न वर्गका ग्राहकद्धारा संचालित व्यापार, व्यवसाय एवम् परियोजना पनि सानै हुन् भएकाले परियोजना नै टुट्ने अवस्था समेत आउन सक्छ ।