बैंकिङ खबर । कोरोना भाइरस र लकडाउनका कारण यतिबेला विश्वव्यापी त्रास फैलिएको अवस्था छ । लामो समयको लक डाउनका कारण देशको अर्थतन्त्र प्रभावित बनेको अवस्था छ । बैंकिङ क्षेत्रमा पनि यसको गहिरो प्रभाव परेको छ । विपन्न वर्गमा लक्षित लघुवित्त क्षेत्रमा यसको असर झन् बढी रहेको छ । काम गर्ने वातावरण नभएपछि लघुवित्तकर्मीहरु संस्था बन्द गरेर बसेका छन् । यसैबीच कोरोना भाइरसको संक्रमण र लक डाउनका कारण लघुवित्त क्षेत्रमा देखिएको प्रभावका विषयमा र व्याजदरका बारेमा केन्द्रित रहेर बैंकिङ खबरले नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छः
कोरोना संक्रमणको त्रास फैलिरहेको यस अवस्थामा लघुवित्तहरुको अबस्था के कस्तो छ ?
कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले लक डाउन गरेको अबस्था छ । यो समयमा लघुवित्त वित्तीय संस्थाहरुले काम गर्ने अवस्था छैन । मिटिङहरु बस्न पनि नमिल्ने र अन्य कार्य संचालन पनि गर्न नमिल्ने भएका कारण अहिले लघुवित्तहरु अधिकांश बन्द जस्तै अबस्थामा रहेका छन् । लघुवित्तका कार्यहरु फिल्डमा गएर गर्नुपर्ने हुन्छ । तर, अहिले त्यो अवस्था पनि रहेन । ग्राहकले डिपोजिट निकाल्न खोजेको अवस्थामा केही शाखाहरु खोल्ने गरिएको छ । यद्यपि, लघुवित्तका प्रायः स्टाफहरु संस्था नजिकका छैनन् । तर पनि सेवा दिनुपर्छ भन्ने धारणाबाट केही सिमित शाखा खोलेर सेवा दिएका छौं । तर, अधिकांश शाखाहरु बन्द नै छन् । लघुवित्तका ग्राहक भनेका प्रायः ग्रामीण भेगमा विपन्न वर्गहरु हुन् । उनीहरुलाई आफूले राखेको डिपोजिट आवश्यक परेमा लिन गइराखेका छन् । नेपाल राष्ट्र बैंकले त लघुवित्तहरुलाई पनि सकेसम्म शाखा खोलेर सेवा दिन निर्देशन जारी गरेको छ । यस विषयमा हामीले ग्राहकहरुलाई सहजीकरण गरीरहेका छौं ।
यो लकडाउनबाट विशेषगरी लघुवित्त क्षेत्रमा केकस्ता प्रभावहरु परेका छन् र थप प्रभावहरु के कस्ता पर्ने सम्भावना रहेका छन् ?
लक डाउनका कारण लघुवित्त क्षेत्रमा धेरै नै असर परेको छ । किनकि, लघुवित्तका ग्राहक भनेकै विपन्न वर्ग हुन् । लक डाउनका कारण ती वर्ग नै सबैभन्दा धेरै प्रभावित भएका छन् । यसअघि नै लघुवित्तहरुको संख्या धेरै भएका कारण लेण्डिङमा समस्या थियो । यो समस्या अबका दिनमा झन् बढ्ने देखिन्छ । यसले गर्दा रिपेमेन्टको समस्या बढ्दै जाने देखिएको छ । लघुवित्तहरुले विना धितो कर्जा प्रभाव गर्ने भएका कारण यसै पनि बढी जोखिम रहेको छ । त्यसमाथि, कोरोनाका कारण जोखिम बढ्ने सम्भावना रहेको छ । यसको प्रभाव लघुवित्तमा यति नै पर्ला भनेर त औपचारिक रुपमा अध्ययन गरिएको छैन । तर, कम्तीमा पनि डेढ दुई वर्षसम्म लघुवित्त क्षेत्र प्रभावित हुन्छ भन्ने मलाई लागेको छ । यसबारे लक डाउन खुलेपछि अध्ययन गर्नेछौँ । यस विषयमा हामीले राष्ट्र बैंकसँग कुराकानी पनि गरेका छौँ । लघुवित्त क्षेत्रमा पर्न सक्ने असरलाई विशेष रुपले हेर्न आग्रह गरेका छौँ । यस विषयमा राष्ट्र बैंक पनि सकारात्मक रहेको छ ।
बैंकहरुले निक्षेपमा व्याज घटाएका छन् भने कर्जामा पनि व्याज घटाउने कुरा गरीरहेका छन् । लघुवित्तको व्याजदर के कसरी अघि बढने अबस्था छ ?
हाल ११, १२ प्रतिशत लघुवित्त कम्पनीहरुको लागत रहेको छ भने हामीले १८ प्रतिशतमा लगानी गरेको अवस्था छ । यसमा पनि हाम्रो स्टाफ प्रशासन खर्च ५ प्रतिशत हुन्छ । यसमा १७ प्रतिशत हाम्रो खर्च नै भयो यसरी हेर्दा १ प्रतिशतमा लघुवित्त संस्थाहरु चलेको अवस्था छ । बैंकहरुले व्याज घटाउने कुरा गरीरहेका छन्, अहिले निक्षेपमा मात्रै घटेको अबस्था छ । उनीहरुले व्याज घटाए भने कति घट्छ त्यही अनुसार नै हाम्रो पनि निर्णय हुन्छ । लघुवित्तको ब्याज घट्ने र बढ्ने भइरहने हुँदैन । हामीले यो लकडाउनको अबस्थामा लघुवित्त सदस्यहरुलाई केही समयका लागी डिस्काउन्ट दिने भन्ने कुरा भइरहेको छ केही डिस्काउन्ट हुन सक्ने संभावना रहन्छ ।
लघुवित्तको व्याजदरबारे राष्ट्र बैंक वा अर्थमन्त्रालयले निर्णय गर्ने हो कि लघुवित्तहरुबीच आपसी छलफलमा लघुवित्त बैंकर्स संघले निर्णय गर्न सक्छ ?
हाम्रो ब्याजदर राष्ट्र बैंकले तोकेको छ । त्यही भित्रमा रहेर नै हामीले काम गर्ने हो । ९ प्रतिशतसम्म मार्जिन लिन पाउने भनेर केन्द्रीय बैंकले तोकेकोमा हाल हाम्रो ७ प्रतिशत मात्रै रहेको छ । १८ प्रतिशतमा हामीले लगानी गरेका छौ । ११, १२ प्रतिशत खर्च नै छ भनेपछि ५,६ प्रतिशतमा काम गरीरहेको अवस्था छ । यस्तो अवस्थामा बैंकहरुले कति घटाउने हो त्यो यकीन जानकारी आइसकेको छैन । त्यसमा पनि हामीले एकपटक ब्याज घटाइसकेपछि फेरी बढाउन सक्दैनौं । हाम्रो समुदायमा कुरा बुझाउन पनि असहज हुन्छ । त्यसैले बैंकहरु जस्तो तल माथि, घट बढ भइरहनेगरी लघुवित्तको व्याजदर घटबढ गरीरहन मिल्दैन । बैंकहरुले अब कतिसम्म घटाउँछन् । त्यही अनुरुप हामीले छलफल गर्न सक्छौं । मलाई लाग्छ बैंकहरुको पनि केही समयका लागि मात्रै घटाउने अबस्था हुनसक्छ । लामो समयसम्म ब्याज घट्ने हो भने हामीले पनि घटाउने संभावना रहन्छ । असारसम्म घटाउने त्यसपछि फेरी बढाउने कुरा आयो भने हामीले घटाउन असमर्थ हुन्छौं । यसबारेमा हामीले केन्द्रीय बैंक, नेपाल सरकारसँग पहल गर्न खोजेका छौ । सस्तोमा लामो समयसम्म लोन पाउने हो भने हामी पनि व्याज घटाउँछौं । हामी ९ प्रतिशतबाट पनि घटाएर ६,७ प्रतिशत मात्र मार्जिन राखेर १५ प्रतिशतसम्ममा दिन तयार छौं । तर हामीलाई पनि सस्तोमा उपलब्ध हुनुपर्ने हुन्छ । लघुवित्तको ब्याजको बारेमा सबैतिर चर्चा भइरहेको हुन्छ तर उसले आफैले कति प्रतिशतमा रकम पाउँछ भन्ने कुरा आएको हुँदैन । व्याजका बारे महंगो भयो भनेर हामी आफै कसरी घटाउने भनेर नै सोचिरहेका छौ ।
तपाइको आफ्नो विचारमा अबको परिस्थितिमा कसरी अघि बढ्दा उपयुक्त हुन्छ होला ?
लघुवित्तको बारे दीर्घकालिन योजना पस्कने हो भने राज्यले कोष बनाइदिनुपर्दछ । राज्यले त्यस्तो खालको एउटा कोष बनाएर त्यसबाट हामीलाई पनि सस्तोमा ऋण दिनुपर्छ । यसै अनुरुप हामीले पनि घटाएर हाम्रा ग्राहकहरुलाई दिन सक्छौं । लघुवित्त क्षेत्रमा पनि केही पुराना संस्थाले नाफा कमाउनुभएको होला तर अधिकाशं संस्थाहरु कसरी बाँच्ने भन्नेमै छन् । हाम्रो लागत खर्च पनि धेरै हुन्छ । दुर्गम जिल्लामा सेवा दिनुपर्ने हुन्छ । हाल १ प्रतिशत मार्जिनमा काम गरीरहेको अवस्था छ । तर राष्ट्र बैंकबाट थोरै क्यापीटलबाट पनि धेरै बिजनेस, लगानी गर्न पाउँने भएकाले १ प्रतिशत मार्जिनले पनि नाफा गर्न सकेका हौं । अहिलेको अबस्थामा राष्ट्र बैंक र सबै लघुवित्तहरुबीच हामी अहिले छलफलमै छौं । सदस्यहरुलाई व्याज छुट वा अन्य किसिमको राहत के ल्याउन सकिन्छ हामी केही न केही गर्ने पक्षमा छौं । यसबारे अबको अबस्थामा एउटा दिर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी हुन्छ ।