२०७७ बैशाख ११ गते

वित्तीय क्षेत्रमा कर्मचारी कटौतीको संकेत : प्रविधिको विकास र लकडाउनको परिस्थिति

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थामा कर्मचारी कटौतीको प्रयासका विषयमा नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले आपति जनाएपछि बैंकिङ क्षेत्रमा कर्मचारी कटौटी नगर्न दवाव परेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारीहरुलाई फोर्स लिभमा पठाउने र कर्मचारी कटौती गर्ने प्रयास गरेको भन्दै फियनले बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनलाई यसो नगर्न भनेको छ । लकडाउनका बेला कर्मचारीहरु बाध्यताले नै बिदा बसेको भन्दै उनीहरुको बिदा कटौती नगर्न र लकडाउनका बेला बसेको बिदालाई सार्वजनिक बिदा सरह मान्यता दिन संघको आग्रह छ । बैंक तथा वित्तीय संस्थाहरुले मासिक प्रशाशनिक तथा कर्मचारी खर्चमा कटौटी गर्ने कुरा प्रकाशमा आएसँगै संघले यस्तो चेतावनि दिएको हो ।

बैंंकिङ क्षेत्रमा प्रशाशनिक खर्च तर्फ ठुलै रकम विनियोजित हुँदै आइरहेको छ । कोरोना संक्रमणको सन्त्रास र यसको रोकथामका लागि लकडाउनको अबस्था सृजना भएपछि अर्थतन्त्रमा ठुलो प्रभाव पर्ने देखिएपछि बैंकहरुले प्रशाशनिक खर्चलाई कटौती गर्ने रणनीति बनाएका हुन् । बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले बैंकिङ क्षेत्रको प्रशाशनिक तथा कर्मचारी खर्चमा सकेसम्म कम गर्ने निर्णय गरेको थियो । परिसंघको बैठकले लकडाउनको अबस्थालाई मध्यनजर गर्दै प्रशाशनिक खर्च कटौती गर्ने निर्णय गरेको हो । सबैजसो बैंक वित्तले खर्च कटौतीका उपायहरु खोज्ने भएका छन् । बैंकवित्तलाई डिजिटलाइजेशन गरेर केही कर्मचारी कटौती गर्ने, हालको प्रशाशनिकतर्फ अन्य खर्च कटौतीका उपायहरु अवलम्बन गर्ने लगायततर्फ बैंकवित्त केन्द्रित रहन थालेका छन् । बैंकिङ प्रणलीमा टेक्नोलोजी विस्तारसँगै धेरै कर्मचारी कटौती गर्न सक्ने आधारहरु सृजना भएको छ ।