नेपाल राष्ट्र बैंकले सोमबार वा मंगलबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसपालिको मौद्रिक नीति बजेटको ‘चुनौतिपूर्ण’ भनिएको लक्ष्य हाँसिल गर्न बढी केन्द्रित हुने भएको छ ।
आर्थिक वृद्धिको लक्ष्य
सरकारले निर्धारण गरेको साढे ६ प्रतिशतको आर्थिक वृद्धि र साढे ७ प्रतिशतको मूल्य वृद्धि दर प्राप्तिमा सहयोग पुर्यााउने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको बताइएको छ । विज्ञहरुका अनुसार सैद्धान्तिक रूपमा प्रयास गरे पनि लक्ष्यहरू पूरा नहुने पक्काजस्तै छ । तर, पनि राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लक्ष्य हाँसिल गर्ने प्रयास जारी राख्ने भएको हो ।
मुल्यवृद्धिको लक्ष्य
सरकारले आगामी आर्थिक वर्ष मुल्यवृद्धि ७.५ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको छ । चालू आर्थिक वर्षमा सरकारले मुल्यवृद्धि ९.५ प्रतिशतमा राख्ने लक्ष्य राखेको थियो । तर, मुल्यवृद्धि ९.७ प्रतिशत छ । यो लक्ष्य हाँसिल गर्न चुनौतिपूर्ण भएको आर्थिक क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् । मुल्य वृद्धि नियन्त्रण र आर्थिक वृद्धिको लक्ष्य निकै कठिन भएपनि मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सरकारलाई सो लक्ष्य हासिल गर्न सघाउने भएको हो ।
लोडसेडिङ हटाउने लक्ष्य
जलविद्युत्मा बैंक तथा वित्तीय संस्थाको लगानी बढाउन राष्ट्र बैंकले सहजीकरण गर्ने भएको छ । ऊर्जा संकट निवारण कार्ययोजना आएको र बजेटले पनि जलविद्युतलाई प्राथमिकता दिएकाले मौद्रिक नीतिमा थप सहज बनाउने तयारी भइरहेको छ ।
त्यस्तै दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने र १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्यअनुसार उक्त परिमाणमा विद्युत् उत्पादनका गर्नका लागि मौद्रिक नीतिमार्फत निजी क्षेत्रको लगानी आकर्षित गर्न बैंक तथा वित्तीय क्षेत्रलाई पनि बाध्यकारी व्यवस्था ल्याउन लागिएको छ ।
अन्यको तुलनामा जलविद्युत् क्षेत्रको लगानीमा राष्ट्र बैंक केही उदार बन्दै आएको छ । मुलुकको आवश्यकता र यो क्षेत्रमा कर्जा माग बढेपछि राष्ट्र बैंकले प्राथमिकताका साथ जलविद्युत् क्षेत्रमा लगानी वृद्धिको नीति बनाउन लागेको हो ।
सबै नेपालीको बैंक खाता
यस्तै आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भएका सबै नेपालीको बैंक खाता र सरकारद्वारा वितरण गरिने रकम बैंक मार्फत र्पुयाउनलगायत विषयमा पनि मौद्रिक नीतिमा विशेष कार्यक्रम आउनेछ ।