Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोरोनाले लघुवित्तमा दिर्घकालीन समस्याको संकेत ! (के भन्छन् लघुवित्तका लिडरहरु ?)

२०७७ बैशाख ५ गते

अपेक्षा ढुंगाना /रुपा कोइराला, बैंकिङ खबर । कोरोनाले विश्वव्यापी त्रास फैलिएको अवस्था छ । नेपालमा पनि संक्रमण फैलिन नदिन लामोसमयदेखि लक डाउन घोषणा गरिएको छ । लामो समयको लक डाउनका कारण देशको अर्थतन्त्र प्रभावित बनेको अवस्था छ । बैंकिङ क्षेत्रमा पनि यसको गहिरो प्रभाव परेको छ । विपन्न वर्गमा लक्षित लघुवित्त क्षेत्रमा यसको असर झन् बढी रहेको छ । समाजमा धेरै विपन्न र गरीव परिवारका व्यक्तिहरु माइक्रोफाइनान्स कार्यक्रममा जोडिएका छन् । कोरोना प्रभाव र लकडाउनको प्रभाव नेपालको वित्तीय क्षेत्रमा र विशेषगरी माइक्रोफाइनान्स क्षेत्रमा बढी पर्ने देखिन्छ । नेपालको गरिवी घटाउन र ग्रामिण अर्थतन्त्र बढाउनमा महत्वपूर्ण भूमिका खेलेको माइक्रोफाइनान्सहरुमा कोरोना संक्रमण र लकडाउनले बढी प्रभाव पार्ने देखिन्छ । भाइरसको सन्त्रासका कारण काम गर्ने वातावरण नभएपछि लघुवित्तकर्मीहरु सिमित शाखा बाहेक संस्था बन्द गरेर बसेका छन् । आर्थिक क्रियाकलापहरु बन्द छन् । लघुवित्तमा कर्जा पनि दिन सक्ने अवस्था छैन । यसबारेमा लघुवित्त क्षेत्रका अग्रज एवं लघुवित्त बैंकर्सका कुराहरु यहाँ समेट्ने प्रयास गरेका छौं ।

बसन्त कुमार लम्साल, अध्यक्ष लघुवित्त बैंकर्स संघ तथा प्रमुख कार्यकारी अधिकृत विजय लघुवित्त 

कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले लक डाउन गरेको अवस्था छ । यो अबस्थामा लघुवित्त वित्तीय संस्थाहरुले काम गर्ने अवस्था छैन । मिटिङहरु बस्न पनि नमिल्ने र अन्य कार्य संचालन पनि गर्न नकिल्ने भएका कारण अहिले लघुवित्तहरु अधिकांश बन्द रहेका छन् । लघुवित्तका कार्यहरु फिल्डमा गएर गर्नुपर्ने हुन्छ । तर, अहिले त्यो अवस्था पनि रहेन । त्यसैले, लक डाउन अवधिभर लघुवित्तहरु बन्द नै छन् । ग्राहकले डिपोजिट निकाल्न खोजेको अवस्थामा केही शाखाहरु खोल्ने गरिएको छ । यद्यपि, लघुवित्तका प्रायः स्टाफहरु संस्था नजिकका छैनन् । उनीहरु पनि आफ्नो घर जान खोज्छन् । त्यसैले, कार्यालय नजिकै घर भएका स्टाफहरुले सेवा दिनुपर्छ भन्ने ठानेमा शाखा खोलेर पनि बसेका छन् । तर, अधिकांश शाखाहरु बन्द नै छन् ।

लघुवित्तका ग्राहक भनेका प्रायः ग्रामीण भेगमा विपन्न वर्गहरु हुन् । उनीहरुलाई आफूले राखेको डिपोजिट आवश्यक परेमा लिन गइराखेका छन् । तर, ग्राहकहरुमा पनि अहिले संक्रमणको त्रास भएका कारण सेवा लिनेको संख्या एकादुई मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले त लघुवित्तहरुलाई पनि सकेसम्म शाखा खोलेर सेवा दिन निर्देशन जारी गरेको छ । यस विषयमा हामीले ग्राहकहरुलाई जानकारी पनि दिएका छौँ । लक डाउनका कारण लघुवित्त क्षेत्रमा नै मेजर असर परेको छ । किनकि, लघुवित्तका ग्राहक भनेकै विपन्न वर्ग हुन् । र लक डाउनका कारण ती वर्ग नै सबैभन्दा धेरै प्रभावित भएका छन् । यसअघि नै लघुवित्तहरुको संख्या धेरै भएका कारण लेण्डिङमा समस्या थियो । यो समस्या अबका दिनमा झन् बढ्ने देखिन्छ । रिपेमेन्टको समस्या बढ्दै जाने देखिएको छ । यस विषयमा हामीले राष्ट्र बैंकसँग कुराकानी पनि गरेका छौँ । लघुवित्त क्षेत्रमा पर्न सक्ने असरलाई विशेष रुपले हेर्न आग्रह गरेका छौँ

रामबहादुर यादव, महासचिव लघुवित्त बैंकर्स संघ तथा प्रमुख कार्यकारी अधिकृत नेशनल माइक्रोफाइनान्स

हाल लकडाउनले गर्दा लघुवित्त मात्र होइन सम्पूर्ण क्षेत्रलाई नै असर गरेको अवस्था छ । त्यसमा पनि लघुवित्त अझ विपन्न वर्गहरुसँग काम गर्ने भएकाले त्यहाँ असर नहुने कुरै हुँदैन । मेरो विचारमा कोरोनाको कारणले सबैभन्दा बढी असर परेको विपन्न वर्गमा नै हो । बिपन्न बर्ग जो संग सिमित श्रोत साधन र बिकल्प हुदैन सब भन्दा बढी मारमा परेको त्यही बर्ग हो। सबैभन्दा बढी हालको अवस्थामा प्रभावित समुदाय संग काम गर्ने संस्था भनेको लघुवित संस्था हो । त्यसैले लघुवित संस्थाहरुमा असुलीको समस्या नआउने कुरै छैन। उनीहरुको व्यवसाय बन्द भएको छ, परिवारवाट बिदेशमा गएकाको हालत गंभिर छ, दैनीक रोजगारी गरेर दैनिक गुजारा गर्नेको हालत गंभिर छ र उनीहरुसँग धेरै विकल्प पनि छैन यसकारण सबैभन्दा बढी उनीहरु मारमा परेका छन् । यस्तो अवस्थामा अब लकडाउन खुलेपनि तत्कालै असुली हुने सम्भावना भने निकै कम छ । त्यसबखत हामीले उनीहरुलाई केही समय दिनुपर्ने हुन सक्छ । अर्को कुरा कतिपय एउटै व्यक्तीले एक भन्दा बढी लघुवित्तहरुबाट लोन लिएको अवस्था पनि छ । यस्तो बेला सबै लघुवित्तहरु एकै पटक कर्जा असुलीमा जाँदा उनीहरुमा तत्काल तिर्न सक्ने सामथ्र्य हुँदैन । त्यसकारण उनीहरुको व्यापार, व्यवसायलाई फेरी पहिलेकै अवस्थामा ल्याएर मात्र कर्जा असुलीमा जानु उपयुक्त हुन्छ । यस्तो अवस्थामा दुवैलाई सहज हुने वातावरण बनाई काम गर्नु अत्यावश्यक छ । लघुवित्त संस्थाहरु पनि संस्थागत ढंगले अघि बढ्नु पर्छ र सेवाग्राहीहरुले पनि आर्थिक आर्जन गरेर पैसा तिर्नुपर्छ भन्नेमा दायित्वबोध गर्नुपर्छ । जस्तो भुकम्पको बेलामा नेपाल राष्ट्र बैंकले कर्जा पुर्नतालिकिकरण पुर्नसंरचनाको सुविधा ल्याएको थियो त्यस विपतका बेला राष्ट्र बैंकको यस पोलीसीले धेरै राहत दिएको थियो । यसले संस्था र सेवाग्राहीलाई सहज बनाएको थियो । त्यस्तै अहिले पनि केही समय दिनैपर्छ समय दिएर कर्जा पुर्नतालिकिकरण पुर्नसंरचना कम्तिमा पनि १ वर्षका लागि गर्न सकियो भने उनीहरुमा बाँकी भएको कर्जाको किस्ता रकम कम हुन्छ ।

प्रकाशराज शर्मा, प्रमुख कार्यकारी अधिकृत लक्ष्मी लघुवित्त

अहिलेसम्मको हामीलाई जानकारी भएअनुसार लघुवित्तका स्टाफहरु सुरक्षित छन् । सबैले आफ्नो आफ्नो लकडाउनमा सरकारको नीतिअनुसार सहयोग गरेका छन् । बैंकहरुको कर्जा तिर्ने, कर्मचारीहरुको तलब भुक्तानी गर्ने जस्ता अत्यावश्यक कुराहरुमा सुरक्षित रहेर कार्य गरिरहेका छन् । त्यसबाहेकका कार्य अघि बढेको छैन । अहिलेको अवस्थामा कर्जा तिर्ने तिराउने असुल गर्ने भन्नेतर्फ सोच्ने कुरा भएन । अवस्था सामान्य भएपछि र आर्थिक क्रियाकलापहरु सुधारको चरणमा गएपछि मात्रै कर्जा लगानी गर्ने, असुल गर्ने लगायतका कार्य सुरु हुन्छ । 

कतिपय अवस्थामा हाम्रो सामाजिक उत्तरदायिात्वको आधारमा कसैलाई गाह्रो परेको अवस्था छ भने व्यक्तिगत र संस्थागत रुपमा सहयोग गरिरहेका छौँ । संक्रमण बढेन र लक डाउन खुल्यो भने त्यसपछि मात्रै हाम्रो आर्थिक क्रियाकलाप सुरु हुन्छ । त्यसपछि हामीले अलि बढी मिहिनेत गर्नुपर्ने, ग्राहकलाई सहुलियत दिनुपर्ने अवस्था आउँछ । किनभने ब्रेक भएको आर्थिक क्रियाकलापको चेन पुनः सुचारु गर्नुपर्छ । किस्ता एवम् कर्जा असुलका कुराहरुलाई अहिले पर धकेलिएको छ । सामान्य भएपछि विस्तारै असुल गर्दै जानुपर्छ । यसमा राष्ट्र बैंकले पनि कतिपय प्रोभिजनहरुमार्फत खुकुलो बनाउँदै ग्राहकमैत्री र लघुवित्त संस्थामैत्री बनाउँदै लग्नुपर्छ ।
हामी अधिकांश ग्रामीण क्षेत्रमा कार्य गर्ने संस्था भएका कारणले ग्रामीण क्षेत्रको अर्थतन्त्र लघुवित्तका कारणले चलायमान भइरहन सक्यो भने त्यसले समग्र देशकै अर्थतन्त्रलाई सहयोग गर्छ र छिटै सामान्य अवस्थामा फर्किन सकिन्छ भने अपेक्षा छ । लघुवित्तमा आवद्ध ४०।४५ लाख सदस्यहरुलाई कुनै न कुनै रुपमा आर्थिक क्रियाकलापमा सक्रिय राख्न सक्यौँ भने त्यसले देशलाई सामान्य अवस्थामा ल्याउन सहज हुनेछ । आर्थिक क्रियाकलाप बन्द भएका कारण ग्राहकहरुको आम्दानी कम भई कर्जा असुली हुन नसक्ने अवस्था आउने सम्भावना छ, जसले गर्दा केही अप्ठेरोहरु निश्चिय नै आउँछन् । यसका लागि राष्ट्र बैंकले लघुवित्तमैत्री निर्देशनहरु ल्याउनुपर्छ जस्तो मलाई लाग्छ ।

चोलाराज शर्मा, प्रमुख कार्यकारी अधिकृत छिमेक लघुवित्त

निश्चय नै यसले लघुवित्त क्षेत्रलाई पनि सोही अनुसारर असहज बनाएको छ । छिमेक लघुवित्त वित्तीय संस्थाले पुरै काम ठप्प गरेको अबस्था छैन । हाम्रा कर्मचारी र ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सबै शाखाको अफिसमा सम्पर्क व्यक्तीको नंबर र अफिसको नंबर टासेका छौ । यसले गर्दा समस्यामा परेका ग्राहकहरुको समस्या समाधान हुन्छ । काम रोकेका छैनौ विधिगत ढंगवाट र सावधानी ढंगबाट काम सुचारु छ । कर्मचारीहरु आलोपालो काम गर्दै हुनुहुन्छ । डिपोजिट लिने दिने काम तथा ग्राहकहरुलाई इमरजेन्सी परेको खण्डमा सबै शखाहरुबाट २४ घण्टा नै सुविधा दिइरहेकै छौं । मिटिङहरु नबस्ने र मानिस भेला नहुने योजना छ । यदी मिटीङ बस्नै पर्ने अबस्था भयोभने टाढाटाढा बसेर दुरी कायम गरेर छलफल गर्न निर्देशन दिएका छौं । हाम्रा कर्मचारीहरुलाई ह्याण्ड सेनिटाइजर, मास्कहरु उपलब्ध गराएका छौं । त्यसका साथै कोरोना सम्बन्धि जनचेतना मुलक व्यानरहरु बनाएर उपलब्ध गराएका छौं । सावधानी, सहयोगी र कोरोना जनचेतना जागृत गर्दै अत्यावश्यक सेवाहरु सूचारु राखेका छौं । अहिले सबैको समस्या एउटै हो भन्ने मलाई लाग्छ । अहिले सबैले काम गर्न पाइएको अबस्था छैन । हाम्रा ग्राहकहरु निम्न वर्गका हुन्छन् । काम गरेर गुजारा गर्ने परीवारको आय स्रोतमा समस्या आएपछि अवश्य नै चुनौतीहरु आउलान् । त्यसका बारेमा अहिलै यस्तै हुन्छ भन्न नसकिएला ।
राष्ट्र बैंकले पनि ब्याजको लागि विभिन्न प्रावधान ल्याएको छ । त्यस्तै ठाँउ अनुसार पनि समस्या परेको ठाउँमा सहयोग त गर्नैपर्छ । अब यो लकडाउन सकिएपछि नै सबैकुराको ठोस जानकारी आउँला र प्रावधान ल्याउनमा सहजता होला भन्ने अपेक्षा गरौं । सबै सदस्यहरुबाट जानकारी लिएपछि कस्तो सुविधा दिने भन्नेमा अध्यन गर्न सहज हुन्छ । यसबारेमा एउटा अध्ययन गरेर सकेसम्म सदस्यहरुलाई केही सुविधा दिने योजना नेपाल राष्ट्र बेंकबाट आउने छ भन्ने अपेक्षा गरौ । सरकारी तवरबाट आफ्नो स्रोत साधनले भ्याएसम्मको सहयोग गर्नुपर्छ । यस्तै अध्यन गरी कुन ठाउँका कति प्रभावित भएका छन् त्यही अनुसार प्याकेज ल्याउनु आवश्यक छ । यस्तै, अब उपयुक्त प्रविधिको प्रयोगले सेवा विस्तार गर्न, सञ्चालन खर्च न्यून गर्न, सरल र सुलभ दरमा आवश्यकता अनुसारका वित्तीय सेवा प्रवाह गर्न प्रविधिको प्रयोगमा जोड दिनु आवश्यक छ ।

 

Ad