July 9th, 2016

नेप्सेलाई बोर्डको प्रश्न : क्लियरिङ बैंक थप्ने प्रक्रिया कहाँ पुग्यो ?

nepse..शेयर बजारको आकार बढ्दै जान थालेपछि थप क्लियरिङ बैंकको आवश्यकता महशूस गरिएको छ । हाल धितोपत्र राफसाफ गर्ने क्लियरिङ बैंकको काम ग्लोबल आइएमई बैंक एक्लैले गर्दै आएको छ । पहिले थोरै मात्र कारोबार हुँदा एउटा बैंकले सो काम सजिलै गर्न सक्थ्यो । हाल दैनिक अर्बमाथिको कारोबार हुँदा थप क्लियरिङ बैंकको आवश्यकता महशूस गरिएको हो ।

यसैबिच, नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई क्लियरिङ्ग बैंक थप्न निर्देशन दिएको छ । बोर्डले बजारको आकार बढ्दै गएका बेला बजार सुधार गर्दै लगानीकर्तालाई सहज रुपमा सेवा प्रदान गर्न क्लियरिंग बैंक थप गर्ने सम्बन्धमा भएको प्रगति विबरण पेश गर्न भनेको हो । ६ महिनाअघि बोर्डले बैशाख १ देखि अनिवार्य रुपमा क्लियरिंग बैंकको संख्या कम्तीमा ३ बनाउन नेप्सेलाई निर्देशन दिएको थियो । जवाफमा नेप्सेले उक्त समयमा सफ्टवेयर भेण्डर कम्पनीसंग एएमसी अर्थात ‘एन्नुअल मेण्टेनेन्स कन्ट्रयाक्ट’ नभएको भन्दै क्लियरिंग बैंक थप्न नसकिने बताएको थियो । नेप्सेले केही समय अघि सफ्ट्वेयर भेण्डर कम्पनीसंग एएमसी सम्झौता गरिसकेको छ । तर, यससम्बन्धि आधिकारिक जानकारी बोर्डले पाएको छैन । अहिले बढिरहेको बजारलाई व्यवस्थित गर्न उक्त सम्झौता भए नभएको जानकारी स्पष्ट जानकारी गराउन बोर्डले पत्रमार्फत नेप्सेलाई निर्देशन दिएको हो ।