Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नयाँ गभर्नरप्रति बैंकिङ क्षेत्र धेरै आशावादी – ‘बैंकिङ क्षेत्र बुझेको मान्छे’

२०७६ चैत्र २७ गते

रुपा कोइराला, बैंकिङ खबर । कोरोना संक्रमणका कारण नेपालको वित्तीय क्षेत्र प्रभावित भइरहेको छ । लामो समयको लक डाउनका कारण बैंकहरु समस्यामा छन् । यस बीचमा नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ । सोमबार गभर्नर पदमा नियुक्त भएका महाप्रसाद अधिकारीले आफ्नो कार्यभार सम्हालिसकेका छन् ।  कोरोना संक्रमण र त्यसको रोकथामका लागि घोषणा गरिएको लक डाउनका कारण वित्तीय क्षेत्रमा चुनौती थपिएको छ । यसको प्रभाव तत्कालीन मात्रै नभएर लामो समयसम्म पर्ने देखिन्छ । यस अवस्थामा नवनियुक्त गभर्नर अधिकारी सामु बैंकिङ क्षेत्रमा निरन्तर र सामान्य रुपमा विद्यमान समस्याका अलावा आगामी दिनमा आउन सक्ने नयाँ समस्याको सामनाका लागि पनि तयार रहनुपर्ने चुनौति रहेको छ ।

कोरोना संक्रमणका कारण प्रभावित बैंक तथा वित्तीय संस्थाहरुले नव नियुक्त गभर्नरबाट धेरै आशा र अपेक्षा राखेका छन् । विशेषगरी, हालको संक्रमित अवस्थाबाट बैंकिङ क्षेत्रलाई बचाउन आवश्यक कदम चालिने कुरामा बैंक तथा वित्तीय संस्थाहरु विश्वस्त छन् । यसै सम्बन्धि बैंकिङ क्षेत्रका व्यक्तिहरुको हामीले धारणा बुझेका छौं ।

गोविन्द प्रसाद ढकाल, अध्यक्ष – डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक
नेपाल राष्ट्र बैंकमा जो व्यक्तिको आवश्यक थियो महाप्रसाद अधिकारी त्यही व्यक्ति हुनुहुन्छ । उहाँ गभर्नरको रुपमा मात्रै नयाँ हुनुहुन्छ । बैंक तथा वित्तीय संस्थाको बारेमा उहाँले राम्रोसँग बुझ्नुभएको छ । लामो समय राष्ट्र बैंकमै रहेर काम गरिसक्नुभएका र बैंकिङ क्षेत्रलाई नजिकबाट बुझ्नुभएका कारण उहाँलाई हामीले बैंक तथा वित्तीय संस्थाको परिवारको रुपमा हेरिरहेका छौँ । उहाँ डेपुटी गभर्नर हुँदा नै बैंक तथा वित्तीय संस्थासँग राम्रो समन्वय गर्नुहुन्थ्यो । सबैको कुरा सुन्ने र इन्टरयाक्ट गर्ने उहाँको बानी छ । यसले गर्दा भोलीका दिनमा सिंगो बैंकिङ क्षेत्रलाई काम गर्न अझ सजिलो हुन्छ र समग्र वित्तीय क्षेत्रमा नै यसको पोजिटिभ रिजल्ट आउँछ भन्ने मैले विश्वास लिएको छु ।

सरोजकाजी तुलाधर, अध्यक्ष – वित्तीय संस्था संघ तथा प्रमुख कार्यकारी अधिकृत, गुडविल फाइनान्स

नव नियुक्त गभर्नर सर प्रोफेसनल र बैंकिङ बुझेको मान्छे हुनुहुन्छ । उहाँले राष्ट्र बैंकलाई राम्रोसँग बुझ्नु भएको छ । त्यसकारण, आगामी दिनमा उहाँले जे गर्नुहुन्छ, जस्तो नीति ल्याउनुहुन्छ, राम्रै ल्याउनुहुन्छ भन्ने विश्वास छ । अहिले समग्र अवस्थाका लागि भन्दा पनि सबैको अपेक्षा भनेकै कोभिड १९ ले अर्थतन्त्रमा पार्ने प्रभाव कसरी कम गर्ने र अर्थतन्त्रलाई कसरी सुरक्षित अवतरण गर्ने भन्ने छ । यो सिनारियोमा हामी सबै मिलेर अर्थतन्त्र बचाउने, रोजगारीमा ह्रास आउन नदिनेतर्फ फोकस गर्नुपर्छ । तत्कालीन अवस्थामा राष्ट्र बैंक पनि यसै विषयमा केन्द्रित रहनुपर्ने देखिन्छ ।

अनिल शर्मा, प्रमुख कार्यकारी अधिकृत, नेपाल बैंकर्स संघ

समग्र बैंकिङ प्रणाली नै राष्ट्र बैंकको नीति, नियम र निर्देशनको आधारमा संचालन हुन्छ । नयाँ गभर्नरले बैंकिङ क्षेत्रलाई राम्रोसँग बुझ्नुभएको छ । तीस वर्षे बैंकिङ करिअरमा राष्ट्र बैंकमै काम गरेका कारण पनि लामो अनुभव छ उहाँसँग । भुकम्पको बेलामा उहाँ डेपुटी गभर्नर हुनुहुन्थ्यो । त्यो समयमा विभिन्न स्कीमहरु ल्याएर इकोनोमि रिभाइभ गर्नमा उहाँको ठूलो हात छ । उहाँको विज्ञताका कारण उहाँको निर्देशन अनुसार सहजताका साथ कार्य गर्न सक्छौँ भन्ने मलाई विश्वास छ । बुझेको, जानेको मान्छे आउनुभएका कारण हामी खुसी छौँ । नेपाल राष्ट्र बैंकले र सिंगो देशले उहाँसँग सकारात्मक र कार्यमूलक अपेक्षा गरेको छ ।

प्रकाशराज शर्मा, प्रमुख कार्यकारी अधिकृत, लक्ष्मी लघुवित्त वित्तीय संस्था
हाल नियुक्त भएर आउनुभएका गभर्नरले माइक्रोफाइनान्सलाई राम्रोसँग बुझ्नुभएको छ । यस्तो अप्ठेरो अवस्थामा गभर्नर हुनुभएका कारण समग्र देशले नै उहाँबाट ठूलो अपेक्षा गरेको छ । उहाँको अनुभव र विज्ञताले निश्चय नै देशलाई अप्ठेरो अवस्थाबाट पुनर्जिवीत तुल्याउनेछ भन्ने अपेक्षा रहेको छ । जसरी अन्य बैंकहरुका लागि प्याकेज ल्याउने तयरी भइरहेको होला, त्यसमा हाम्रा ग्राहकहरु पनि समाविष्ट हुनेछन् भन्ने अपेक्षा गरेको छु । माइक्रोफाइनान्समा कर्जा असुली हुन नसक्ने अवस्था आउने सम्भावना छ, जसले गर्दा केही अप्ठेरोहरु निश्चिय नै आउँछन् । यसका लागि राष्ट्र बैंकले लघुवित्त मैत्री निर्देशनहरु ल्याउनेछ भन्ने मैले आशा गरेको छु ।

Ad