गत साताको विहीबारदेखि नै ओरालो गतिमा रहेको शेयर बजार सोमबार पनि घटेको छ । नेप्से परिसूचक सोमबार २.३७ अंकले घटेर १७१६.८३ अंकमा कायम भएको छ । फाइनान्स र विकास बैंकबाहेक सबै समूह मिलेर बजारलाई ओरालेका छन् । सबैभन्दा धेरै बीमा समूह ७८.८ अंकले घटेको छ भने जलविद्युत्, होटल, वाणिज्य बैंक र अन्य समूह क्रमशः २०.८१, ६.७६, ३.९६ र २.३४ अंकले घटेका छन् । फाइनान्स र विकास बैंक भने क्रमशः ३८.९६ र २.९६ अंकले बढेका छन् ।
नेपाल स्टक एक्सचेन्जमा सोमबार १ सय ४० वटा कम्पनिको १८ लाख १७ हजार २ सय ७१ कित्ता शेयर ६ हजार ५ सय ९ पटक खरिदविक्रि हुँदा कुल १ अर्ब ५४ करोड ५२ लाख ७ हजार २ सय ३६ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम आइतबारको तुलनामा घटेको हो । आइतबार १ अर्ब ८५ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
सोमबार धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा रहेको रुरल माइक्रोफाइनान्सको ७ करोड ९६ लाख ८३ हजार ५ सय ५८ रुपैयाँको शेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको ६ करोड ८१ लाखभन्दा बढीको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको पनि ६ करोडमाथिको शेयर कारोबार भएको छ । फस्र्ट माइक्रोफइनान्स र राष्ट्रिय बीमा कम्पनीको क्रमशः ५ करोड ८८ लाख र ५ करोड ८१ लाख रुपैयाँमाथिको शेयर कारोबार हुँदा ग्रामीण विकास बैंकको ५ करोड ९३ लाखको शेयर कारोबार भएको छ । एनआईडीसी क्यापिटल मार्केट्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको पनि ४ करोडमाथिको शेयर कारोबार भएको छ । साना किसान विकास बैंकको ३ करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
सोमबार काष्टमण्डप डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एनआईडीसी क्यापिटल, नमस्ते वित्तीय संस्था, रिलायबल डेभलपमेन्ट बैंक, सनराइज बैंक र नागरिक लगानी कोषको शेयर मूल्य क्रमशः ९.९४, ९.९४, ९.८२, ९.७२ र ९.६८ प्रतिशतले बढेको छ । फेवा विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर शेयर, मनास्लु विकास बैंक, मुक्तिनाथ विकास बैंक लगायतले पनि धेरै कमाएका छन् । राष्ट्रिय बीमा कम्पनिका प्रोमोटर शेयरधनीले सबैभन्दा धेरै साढे ७ प्रतिशतले गुमाएका छन् । नेरुड लघुवित्त, डिप्रोस्क डेभलपमेन्ट बैंक, विजय लघुवित्त लगायतले पनि गुमाएका छन् ।




