March 18th, 2020

रेमिट्यान्स घट्यो, शोधानान्तर बचतमा : यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिती

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो सात महिनाको तथ्यांकमा आधारित रहेको देशको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.८७ प्रतिशत छ । आयात ३.६ प्रतिशतले घटेको छ भने निर्यात २२.४ प्रतिशतले बढेको छ । त्यस्तै, विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति रु.१०९६ अर्ब ६८ करोड बराबर कायम भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.४ प्रतिशतले बढ्दा निजी क्षेत्रतर्फको कर्जा लगानी ८.९ प्रतिशतले बढेको छ ।

उपभोक्ता मुद्रास्फीति
२०७६ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

व्यापार घाटा
आर्थिक वर्ष २०७६।७७ को ७ महिनामा कुल वस्तु आयात ३.६ प्रतिशतले घटेर रु.८०३ अर्ब ६० करोड कायम भएको छ भने कुल वस्तु निर्यात २२.४ प्रतिशतले वृद्धि भई रु.६४ अर्ब ९७ करोड पुगेको छ । जसअनुसार, कुल वस्तु व्यापार घाटा ५.३ प्रतिशतले संकुचन भई रु.७३८ अर्ब ६३ करोडमा सीमित हुन पुगेको छ । भारततर्फ निर्यात बढ्दो र आयात घट्दो क्रममा रहेको छ भने चीनतर्फ निर्यात घट्दो र आयात बढ्दो क्रममा रहेको छ ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिष्टर तथा अन्य), लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय रु.४ अर्ब ११ करोडले घाटामा रहेको छ जबकी अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.९ अर्ब ४९ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा १५ प्रतिशतले वृद्धि भई रु.४९ अर्ब पुगेको छ भने भ्रमण व्यय २१.१ प्रतिशतले घटी रु.४३ अर्ब ६० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.२१ अर्ब ३ करोड रहेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा साढे सात अर्ब कम हो ।

विप्रेषण आप्रवाह
अघिल्लो वर्षको माघ मसान्तसम्ममा २८.५ प्रतिशतले बढेको विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको सोही अवधिमा ०.५ प्रतिशतले घटी रु.५१३ अर्ब २१ करोड कायम भएको छ । यो अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने २१.७ प्रतिशतले बढेको छ, जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । त्यस्तै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.६ प्रतिशतले घटेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.१ प्रतिशतले ह्रास भई रु.५७९ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा रु.११२ अर्ब १५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१६६ अर्ब ६७ करोड रहेको थियो । त्यस्तै, पुँजीगत ट्रान्सफर रु.८ अर्ब ३१ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१४ अर्ब ३८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब १५ करोड रहेको थियो ।

शोधनान्तर स्थिति रु.२१ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४९ अर्ब ३२ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ७ महिनासम्ममा ४३ करोड १७ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति
२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.६ प्रतिशतले बृद्धि भई २०७६ माघ मसान्तमा रु.१०९६ अर्ब ६८ करोड बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ माघ मसान्तमा ९ अर्ब ६४ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ माघ मसान्तमा रु.९४७ अर्ब २४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ माघ मसान्तमा रु.१४९ अर्ब ४४ करोड पुगेको छ । २०७६ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६।७७ को ७ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

सरकारी वित्त स्थिती
आर्थिक वर्ष २०७६।७७ को सात महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.११६ अर्ब ११ करोडले बचतमा रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा झन्डै दोब्बर हो । बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च झन्डै ३४ अर्बले बढी अर्थात रु.४४९ अर्ब २३ करोड रहेको छ । यो बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) रु.५५१ अर्ब ८२ करोड रहेको छ भने राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२४१ अर्ब ३१ करोड नगद मौज्दात रहेको छ, जसमध्ये, स्थानीय तहको खातामा रु.६० अर्ब ७ करोड रहेको छ ।

निक्षेप परिचालन र कर्जा प्रवाह
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६.४ प्रतिशतले बढेको छ । २०७६ माघ मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.२ प्रतिशत, ३१.६ प्रतिशत र ४९.९ प्रतिशत अंश रहेको छ । कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.९ प्रतिशत रहेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको माघ मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.४ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । कृषि क्षेत्रतर्फ १०.९ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ १०.३ प्रतिशत, निर्माण क्षेत्रतर्फ १०.२ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १०.२ प्रतिशत र सेवा क्षेत्रतर्फ ११.८ प्रतिशतले बैंकिङ कर्जा बढेको छ । आवधिक कर्जा १८.३ प्रतिशत, ओभरड्राफ्ट कर्जा ४.९ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, डिमान्ड तथा चालु पँुजी कर्जा १०.५ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.७ प्रतिशत र हायर पर्चेज कर्जा १ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृतिको कर्जा ०.१ प्रतिशतले घटेको छ ।

पुनर्कर्जा र सहुलियत कर्जा
उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा २०७६ माघ मसान्तमा रु.२१ अर्ब १९ करोड लगानीमा रहेको छ । यस अन्तर्गत साधारण पुनरकर्जा रु. १८ अर्ब १७ करोड र निर्यात पुनरकर्जा रु.१ अर्ब ३८ करोड उपयोग भएको छ ।

भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनरकर्जाको बक्यौता २०७६ माघ मसान्तमा रु.१ अर्ब ६५ करोड रहेको छ । यस्तो कर्जा १५९२ ऋणीले उपयोग गरेका छन् ।

२०७६ माघ मसान्तसम्ममा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २२,३२४ ऋणीको रु.४७ अर्ब १६ करोड कर्जा बक्यौता रहेको छ । त्यसैगरी, सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३,७८० ऋणीको रु.२ अर्ब ३१ करोड कर्जा बक्यौता रहेको छ ।

वित्तीय पहुँच
२०७६ माघसम्म कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०७६ माघ मसान्तमा १६४ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ माघ मसान्तमा ९५५० पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]