नागरिक बचतपत्र २०७७ ‘क’ को साँवा तथा ब्याज भुक्तानी पुर्जा र खण्डित अवधिको ब्याज वितरण आइतबारदेखि सुरु भएको छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका समेत लगानीकर्ताले भुक्तानी पुर्जा र ब्याज लिन आवेदन बुझाएको कार्यालयमा सम्पर्क गर्न नेपाल राष्ट्र बैंकले सूचनामार्फत जनाएको छ । यो बचतपत्रको ब्याजदर आठ प्रतिशत रहेको छ । प्रमाणपत्र र ब्याज लिन लगानीकर्ताले रकम बुझाएको भौचरको अर्धकट्टि तथा नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकले गत चैत २८ मा यो बचतपत्र निष्काशन गरेको थियो ।