Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकमा ८५ खर्ब थुप्रियो

२०८३ कार्तिक २० गते

बैंकिङ खबर / नेपालको बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढिरहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्स बढेसँगै बैंक तथा वित्तीय संस्थामा बचतको मात्रा पनि विस्तार हुँदै गएको छ । तर, बैंकमा पैसा थपिँदै जाँदा पनि अर्थतन्त्रमा लगानीको गति भने अपेक्षाअनुसार बढ्न सकेको छैन । एकातिर बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएको छ, अर्कोतिर उद्योग, व्यवसाय र ठूला परियोजनामा लगानी विस्तार हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक १२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८५ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको अनुमानित कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० ६६ खर्ब ७ अर्ब रुपैयाँभन्दा करिब २९ प्रतिशत बढी हो । अर्थतन्त्रको आकारभन्दा बैंकिङ प्रणालीमा रहेको निक्षेप ठूलो देखिनुले नेपालको वित्तीय प्रणालीमा बचत संकलन र लगानी परिचालनबीचको अन्तरलाई उजागर गरेको छ ।

निक्षेप वृद्धिको प्रमुख आधार रेमिट्यान्स आप्रवाह हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम बैंकिङ प्रणालीमा जम्मा हुँदा वित्तीय स्रोत विस्तार भएको छ । यसबाहेक निर्यात आम्दानी तथा अन्य बाह्य क्षेत्रका स्रोतले पनि मुलुकको वित्तीय अवस्थामा सहयोग पुर्‍याएका छन् । तर, विदेशबाट भित्रिएको रकम स्वदेशमा उत्पादन, उद्योग स्थापना र व्यवसाय विस्तार गर्ने पुँजीका रूपमा पर्याप्त परिचालन हुन सकेको छैन ।

सामान्यतया बैंकमा निक्षेप बढ्नु वित्तीय प्रणालीका लागि सकारात्मक मानिन्छ । यसले बैंकहरूको कर्जा दिन सक्ने क्षमता बढाउँछ र लगानी विस्तारका लागि स्रोत उपलब्ध गराउँछ । तर, निक्षेप बढ्दैमा स्वतः लगानी बढ्दैन । त्यसका लागि कर्जा लिन इच्छुक व्यवसायी, सम्भाव्य परियोजना, बजारमा माग र लगानीप्रतिको विश्वास पनि आवश्यक हुन्छ । अहिले नेपालको अर्थतन्त्रमा यही पक्ष कमजोर देखिएको छ ।

बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहे पनि निजी क्षेत्रले नयाँ लगानीका लागि उत्साह देखाउन सकेको छैन । बजारमा माग कमजोर हुनु, व्यवसाय सञ्चालन लागत उच्च रहनु, नीतिगत अनिश्चितता, लगानीको प्रतिफलप्रतिको अन्योल र व्यावसायिक वातावरणप्रतिको कमजोर विश्वासले नयाँ परियोजना अघि बढाउने निर्णय प्रभावित पारेको छ । पुराना ऋणीसमेत व्यवसाय विस्तारभन्दा कर्जा व्यवस्थापनमा केन्द्रित हुनुपर्ने अवस्था देखिँदा नयाँ कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन ।

यसको अर्को पाटो बैंकहरूको कर्जा प्रवाहप्रतिको सतर्कता पनि हो । खराब कर्जाको जोखिम, ऋणीको कमजोर भुक्तानी क्षमता र धितोको मूल्यमा देखिएको अनिश्चितताले बैंकहरूलाई कर्जा विस्तारमा सावधानी अपनाउन बाध्य बनाएको छ । बैंकसँग पैसा भए पनि कर्जा सुरक्षित रूपमा परिचालन गर्न सकिने परियोजना र भरपर्दो ऋणीको खोजी चुनौतीपूर्ण बनेको छ ।

यसले नेपालको वित्तीय प्रणालीमा अहिले देखिएको समस्या केवल तरलताको होइन भन्ने स्पष्ट पार्छ । बैंकमा निक्षेप बढ्नु एउटा पक्ष हो भने त्यो रकम उत्पादनशील क्षेत्रमा परिचालन हुनु अर्को महत्त्वपूर्ण पक्ष हो । निक्षेपलाई कर्जामा रूपान्तरण गरेर उद्योग, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधारमा लगानी विस्तार गर्न नसकिए बैंकिङ प्रणालीमा थुप्रिएको पुँजीले अर्थतन्त्रलाई अपेक्षित गति दिन सक्दैन ।

अहिलेको मुख्य चुनौती बैंकमा पैसा कसरी थप्ने भन्ने होइन, भएको पैसा कसरी उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा पुर्‍याउने भन्ने हो । त्यसका लागि सरकारले नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र परियोजना कार्यान्वयनको गति बढाउनुपर्ने देखिन्छ । निजी क्षेत्रले पनि उपलब्ध वित्तीय स्रोत उपयोग गरेर उत्पादन र व्यवसाय विस्तार गर्ने आत्मविश्वास विकास गर्न आवश्यक छ ।

बैंकमा ८५ खर्बभन्दा बढी निक्षेप जम्मा हुनु वित्तीय स्रोतको उपलब्धताका हिसाबले महत्त्वपूर्ण उपलब्धि हो । तर, त्यो रकम अर्थतन्त्रको उत्पादन, रोजगारी र आय वृद्धि गर्ने क्षेत्रमा परिचालन हुन सकेन भने निक्षेप वृद्धिको वास्तविक आर्थिक लाभ सीमित हुनेछ । त्यसैले नेपालको अर्थतन्त्रको अहिलेको प्रश्न बैंकमा कति पैसा छ भन्ने मात्र होइन, बैंकमा रहेको पैसा अर्थतन्त्र चलायमान बनाउन किन परिचालित हुन सकेको छैन भन्ने हो ।

Ad