बैंकिङ खबर / तिहार नजिकिएसँगै सुन–चाँदीका सिक्का खरिद गर्ने उपभोक्ताको चहलपहल बढेको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलमा सिक्का खरिद गर्न बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको छ ।
नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आजदेखि सुन तथा चाँदीका सिक्का बिक्री सुरु गरेको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री हुने सिक्का आज र भोलि गरी दुई दिन उपलब्ध गराइनेछ ।
तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दा सुन तथा चाँदीका सिक्का प्रयोग गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ । विशेषगरी धनतेरसका अवसरमा सुन, चाँदी तथा अन्य धातु खरिद गर्दा शुभ हुने धार्मिक मान्यताका कारण यस समयमा यस्ता वस्तुको माग बढ्ने गरेको छ । यही परम्परालाई पछ्याउँदै उपभोक्ता राष्ट्र बैंकबाट सिक्का खरिद गर्न पुगेका हुन् ।
राष्ट्र बैंकबाट बिक्री हुने सिक्काको शुद्धताप्रति उपभोक्ताको विश्वास रहनु पनि आकर्षणको अर्को कारण हो । बजारमा उपलब्ध सुनचाँदीका सामग्रीको तुलनामा राष्ट्र बैंकबाट बिक्री हुने सिक्काको गुणस्तर र शुद्धताबारे उपभोक्ताले बढी भरोसा गर्ने गरेका छन् ।
यस वर्ष राष्ट्र बैंकले सुनको असर्फीसमेत बिक्रीमा ल्याएको छ । गत वर्ष सुन अभावका कारण चाँदीका सिक्का मात्रै बिक्री गरेको राष्ट्र बैंकले यसपटक वाणिज्य बैंकहरूबाट ३५ किलोग्राम सुन खरिद गरी सुनका असर्फी बिक्री गर्न थालेको हो ।
राष्ट्र बैंकका अनुसार एक जना व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी खरिद गर्न सक्नेछन् । त्यस्तै, १० ग्राम तौलका बढीमा तीनवटासम्म चाँदीका सिक्का खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
तिहारको समयमा सुन–चाँदीका सिक्काको माग बढ्ने भएकाले राष्ट्र बैंकले सीमित परिमाणमा खरिद गर्न पाउने व्यवस्था गरेको हो । यसले एकै व्यक्तिले धेरै परिमाणमा सिक्का खरिद गर्ने सम्भावना कम गर्दै बढीभन्दा बढी उपभोक्तालाई सिक्का उपलब्ध गराउने उद्देश्य राखेको देखिन्छ ।